भैरहवा, चैत १६ । कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी प्रकाशन ‘द काठमाण्डु पोस्ट’ले बिहीवार भैरहवामा एक कार्यक्रमको आयोजना गरी ‘क्लाइमेट डायलग’ विषयमा जलवायु परिवर्तनका असर न्यूनीकरण विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका जयवायु परिवर्तन कार्यक्रमका यज्ञमूर्ति खनालले प्रदेश स्तरमा जलवायु परिवर्तनका प्रयाप्त असर देखिइरहेको तर, त्यसको न्यूनीकरणका लागि पर्याप्त नीति, बजेट र कार्यक्रम हुन नसकेको र संघीय सरकारकै नीति र कार्यविधिमा रहेर काम गर्नु परिरहेको बताए ।
जलवायु परिवर्तनका विश्वव्यापी असरमा लुम्बिनी प्रदेशका मुद्दा पेचिलो बन्दै गएको उनले बताए । तर, प्रदेश सरकार र स्थानीय तहमा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन नरहेकाले ‘प्रदेश र स्थानीय तहमा पनि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनसम्बन्धी छुट्टै नीति नरहेको बताए । जलवायु परिवर्तनका असरको न्यूनीकरण र अनुकूलनताका लागि समुदायको जागरुकता र युवाहरुको सक्रियता महत्त्वपूर्ण भए पनि अहिले युवा जनशक्तिको अभावले समस्या बढीरहेको खनालले बताए ।
डिभिजन वन कार्यालय पाल्पाकी वन अधिकृत मुना शर्माले विश्वव्यापी बढिरहेको जलबायु परिवर्तनको असर न्यूनीकरणका लागि वन, कृषि, पर्यटन र जलवायु परिवर्तनको विषय समेटिएको एउटै नीति आवश्यक रहेको बताइन् । स्थानिय तहदेखि प्रदेश र संघसम्म एकै प्रकृतिको नीति बनाउन जरुरी छ । अनि कार्यक्रम सञ्चालन गर्न सकिने र त्यसको प्रभावकारी कार्यान्वयन पनि हुन सक्छ । वन क्षेत्रआसपासका बस्तीमा जनसंख्या कम हुनु, युवा नहुनु, वृद्धवृद्धा, महिला र बालबालिका बढी हुनुले पनि जलवायु परिवर्तनमा असर पर्न थालेको शर्माको भनाई थियो ।
डढेलोका घटना वृद्धि हुँदा त्यसको प्रत्यक्ष मारमा ग्रामीण क्षेत्रका महिला, बालबालिका पर्ने बताइन। महिलाले प्रयोग गर्ने कपडासमेत फायर संवेदनशील हुने भएकाले बढी असर गर्ने गरेको उनले बताइन् । कार्यक्रममा वन्यजन्तु चोरी शिकारविरुद्धको अभियानकर्ता बर्दियाका युवा हेमन्त आचार्यले जलवायु परिवर्तनको असरले मानव बस्ती र वनजन्तुमा असर परेको छ। उनले नदी नाला सुक्दै गएपछि बढाइरहेको उनको तर्क थियो । ‘जलवायु परिवर्तनले खोला नदी सुक्दै गएर बगरमा परिणत भएका छन्, त्यसले पानी खोज्दै बस्ती क्षेत्रमा पुग्ने वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने घटना बढेका उनको भनाई छ। त्यसको प्रत्यक्ष असर पर्यावरणीय पर्यटकदेखि विपन्न समुदायको बस्तीसम्मै असर गरिरहेको बताए ।
जलवायु संवाद कार्यक्रमको सञ्चालन द काठमाण्डु पोस्टका सम्पादक विश्वास बरालले गरेका थिए भने सरकारी तहबाट भएका नीतिगत र कानूनी समस्या, सरोकारवालाको भूमिका विषयक छलफलमा स्थानीय युवा, वातावरण अभियन्ता र वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको हो ।