अन्जना चौहान
लुम्बिनी, चैत्र १८ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९, सोनवर्षास्थित समय माई मन्दिर मा श्री शतचण्डी महायज्ञ सुरु भएको छ। उक्त महायज्ञको उद्घाटन श्री खुदाबागर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव कुमार पाण्डेले कलशयात्रा शुभारम्भ गर्नुभएको छ।
गत वर्ष सम्पन्न १०औं महायज्ञपछि यस वर्ष ११औं श्री शतचण्डी महायज्ञ चैत १७ गतेदेखि सुरु भई चैत २५ गतेसम्म सञ्चालन हुने भएको छ। नौ दिनसम्म चल्ने यस धार्मिक अनुष्ठानमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ।
महायज्ञ व्यवस्थापन समितिले यज्ञको आयोजना तथा व्यवस्थापन गरिरहेको छ। समितिको अध्यक्षमा शिव कुमार पाण्डे रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी रामनयन कुर्मीले सम्हालिरहेका छन्। यज्ञ सचिवका रूपमा राम औतार यादव, सहसचिव विष्णु प्रसाद यादव रहेका छन्। यसैगरी, समितिका सदस्यहरूमा जनार्दन यादव, बर्मा नन्द यादव, अनिल बर्मा, हरिचन्द्र यादव, अनुरुद वर्मा लगायत अन्य पदाधिकारी, शिक्षक तथा गाउँ समाजका विशिष्ट व्यक्तिहरू संलग्न छन्।
महायज्ञ अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। बिहान ८ बजे देखि १० बजेसम्म कलश पूजन हुनेछ भने दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म कथावाचन गरिनेछ। दिउँसो ११ बजेदेखि बेलुकी ४ बजेसम्म रासलीला मञ्चन गरिनेछ भने राति ८ बजेदेखि १२ बजेसम्म रामलीला प्रस्तुत गरिनेछ। फागुन २४ गते आइतबार राम नवमी तिथिको अवसरमा विशेष पूजापाठ तथा कथावाचन गरिनेछ।
यस महायज्ञका प्रमुख आचार्य श्री अंकित त्रिपाठी रहेका छन्, जो गोरखनाथ मन्दिर, उत्तरप्रदेशका पुरोहित हुन्। उहाँको नेतृत्वमा सात जना पुरोहितद्वारा पूजापाठ तथा धार्मिक अनुष्ठान सम्पन्न गरिँदैछ। साथै, लिला मण्डप अन्तर्गत हुने सांगीतिक कार्यक्रम श्री भोला शंकर तिवारी तथा राधा सर्वेश्वरी रासलीला धाम, बिन्द्रावनद्वारा सञ्चालन गरिनेछ।
यस धार्मिक महोत्सवमा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन, समाजसेवी तथा धर्मप्रेमीहरूको व्यापक सहभागिता रहने विश्वास गरिएको छ।