logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा चिन्ता


    २५ चैत्र २०८१ , सोमबार

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा चिन्ता

    लुम्बिनीखबर
    भैरहवा, २५ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान रोकेपछि स्थानीय आक्रोशित बनेका छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको उतारचढावबाट उनीहरु दिक्क बनेका छन् । एकसाता अघि नागरिक उड्डययन प्राधिकरणले भैरहवाबाट ‘समर सेड्युल’ स्थगित गरेपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका उडान ठप्प छन् ।
    करिब तीन वर्षअघि उद्घाटन भएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यसको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ । यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्न चाहने यात्रुका लागि आवश्यक सरकारी कागजात र पक्रियाका काम सुरु नहुँदा उडान अनिश्चित बनेका हुन् ।

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यात्रु अभावले गर्दा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी यहाँबाट उडान भर्न इच्छुक नदेखिएको बताए । भैरहवामा आयोजित एक कार्यक्रममा उनले पर्याप्त बिजनेशको कमीले गर्दा उडान निरन्तर हुन नसकेको जनाए । पाँच महिनाजति विभिन्न वायु सेवा कम्पनीले भैरहवाबाट उडान भरे पनि एकसाता यता कुनै पनि एयरलाइन्सले यहाँबाट उडान अनुमती लिएका छैनन् । अहिले अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ ।
    कुवेतको जजिरा एयरवेज र दुवईको फ्लाई दुवइले गत शनिवार दिउँसो भैरहवाबाट चालु सिजनको अन्तिम उडान भरेका थिए । दुबै एयरलाइन्सले गत कार्तिकबाट यहाँ नियमित उडान भरिरहेका थिए । यी बाहेक थाइल्याण्डको एयर एसियाले पनि सातामा एकदिन उडान भरिरहेको थियो । केही महिना कतार एयरवेजले समेत भैरहवामा उडान भरेको थियो । एकपटक धेरै विमान कम्पनीले उडान भर्न थालेपछि यहाँका बासिन्दा र व्यवसायी उत्साहित बनेका थिए ।
    यात्रुलाई श्रम, मेडिकल, ओरियन्टेशन र भीसा सेन्टरको कामका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता अन्त भएको छैन । काठमाडौंमा बिदेशिने पक्रिया पूरा गरेर जहाज चढन भैरहवा आउनुपथ्र्यो । यहाँबाट उडान भए पनि निरन्तरता पाउनेमा शंका व्यक्त गर्दै आएका व्यवसायी फेरि आक्रोशित बनेका छन् । उनीहरुले आन्दोलनको तयारी गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै यहाँका व्यावसायीले एक वर्षअघि १५ दिन धर्ना दिएका थिए । उनीहरुले मुलुकका वर्तमान र पूर्व प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।
    वर्तमान पर्यटनमन्त्री बद्री पाण्डे र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिल्लामा आएका बेला जस्तोसुकै अवस्थामा पनि विमानस्थल सञ्चालन गरिने बताएका थिए । तर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १८ घण्टा सञ्चालनमा आउनसाथ भैरहवाबाट उडान अनुमती कटौती गरिएको छ ।
    गत डिसेम्बर ३ बाट भैरहवा हुँदै अन्तर्राष्ट्रिय विमान कम्पनीले सिधा र कनेक्टिङ उडान सुरुवात गरेका थिए । अन्तर्राष्ट्रिय उडान गरिरहेका विमान कम्पनीले नियमित उडान रोकेपछि विमानस्थल निरन्तर संचालनको विषयमा आफूहरुले गरिरहेको शंका सही सावित भएको उद्योगी, व्यवसायी र नागरिकले बताएका छन् । पर्यटन व्यवसायी सन्जय बजिमयले उडान नियमित हुने आशमा म्यानपावरसँंगै धरौटी समेत एयरलाइन्सलाई बुझाएर लगानी बढाएको बताए ।
    ‘हामी व्यवसायीले लगानी थपेर काम गर्न खोज्दा समेत प्राधिकरणलेसाथ दिँदैन,’ उनले भने, ‘ऋणको ब्याज तिर्न नसके हामी कसरी बाँच्ने ।’ आफूहरुले आग्रह गर्दागर्दै विमानस्थल नियमित नहुँदा आन्दोलन, नाकाबन्दी र जुलुसबाटै काम बन्ला भन्ने लागिरहेको उनले बताए ।
    अहिलेसम्म करिब ४० अर्ब हाराहारी लगानी भइसकेको विमानस्थलमा अहिले पनि भौतिक संरचना निर्माणको काम चलिरहेको छ । दोस्रो चरणमा सुविधासम्पन्न टर्मिनल निर्माणको तयारी समेत भइरहेको छ । अर्को तयार भएपछि अहिले सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिकमा रुपान्तरण गरिने विमानस्थल व्यवस्थापनले जनाएको छ ।
    अन्तर्राष्ट्रिय उडान रोकिएपछि सामाजिक संजाल र विभिन्न फोरमहरुमा यहाँका व्यवसायी र स्थानीयले आक्रोस पोखिरहेका छन् । कति सरकारलाई दोष लगाए छन् भने केहीले एयरलाइन्सलाई । कतिपयले काठमाडौंका व्यवसायीको प्रभावमा परेको गुनासो गरेका छन् । स्थानीय आक्रोस पोखिरहे पनि सुनुवाई हुने भने छाँटकाँट देखिँदैन । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले व्यवसायीले गरेको लगानी खेर जाने हो की भन्ने चिन्ता थपिएको बताए ।
    सरकारले चाहे विमानस्थल संचालन गर्न सक्ने जनाउँदै राज्यकै कारण उडान स्थगित भएको उनको भनाई छ । ‘करिब एक वर्ष अघि सरकारले भैरहवामा सबै सुविधा दिने निर्णय गरेको थियो’, उलने भने, ‘तर, अहिलेसम्म कुनै पनि निर्णय कार्यान्वयन छैन । सरकारले नचाहेरै विमानस्थल नचलेको यही कुराबाट पनि पुष्टि हुन्छ ।’ निजी क्षेत्रले विमानस्थल लक्षित अर्बौं लगानी गरे पनि सरकारले यसको मर्म बुझ्न नसकेको उनले बताए ।
    सिद्धार्थ होटल संघ नेपालका उपाध्यक्ष किशोर जोशीले केही समय नियमित उडान हुँदा भैरहवा र सिंगो लुम्बिनी गुल्जार भउ पनि फेरि सुनसान हुन थालेको बताए । उनले सरकारले अन्तर्राष्ट्रिय अन्य विमान कम्पनीहरुलाई प्रोत्साहन गरेर भए पनि तत्काल भैरहवाबाट उडान गर्नुपर्ने बताए । ‘सरकारी र निजी क्षेत्रको अर्बौं लगानी डुब्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘यस्तो बेला सरकारले टुलुटुलु हेरेर बस्ने होइन्, बोल्ड निर्णय गरेर विमानस्थल चालउनुपर्छ ।’ नागरिकस्तरमा आक्रोस बढीरहेकाले पुनः आन्दोलन हुनसक्ने उनले चेतावनी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.