अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, २५ चैत । लुम्बिनी सांस्कृतिक नगरपालिका-७ अन्तर्गत पर्ने शिवगढीया चौकको मोडमा पिकअप दुर्घटना भएको छ ।
लुम्बिनी विकास कोष भित्र रहेको मायादेवी मन्दिरमा मुण्डन गराएर घर फर्किने क्रममा लु १ च २७६३ नम्बरको पिकअप मोडमा आफै अनियन्त्रित भई पल्टिएको हो। उक्त दुर्घटनामा अन्दाजी १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिएका छन्।

दुर्घटनामा परेका घाइतेहरुलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा अस्पतालमा पठाईएको मगराठीले बताए। उपचारका लागि पठाइएकाहरू मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यको सामान्य रहेको मगराठीले बताए ।

उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताए ।