- बिशन गुरुङ्ग
भैरहवा, असार ३ । “एकछिन तिनीहरू हाँसेर हेर्छन्, तर बोल्दैनन्, सुन्दैनन् … । कहिले काहीँ निश्चल अनुहारमा हाम्रो मन रोएर आउँछ,” भन्छिन् आमा सुनिता कार्की । उनी कपिलवस्तु वाणगंगा नगरपालिका–३ निवासी सन्तराम थारुकी धर्मपत्नी तथा पेशाले नर्स हुन्। तर आमा भएपछिको पीडा त पेशाले हटाउन सक्दैन, उनले आफ्ना जुम्ल्याहा छोराहरूको पीडामा सारा जीवन अड्किएको महसुस गरिरहेकी छन्।
एरिक थारु र इभान थारु दुवै जुम्ल्याहा छोराहरू जन्मजात कानले नसुन्ने र त्यसैको कारण बोल्न पनि नसक्ने अवस्थामा छन् । हाल उनीहरू सिद्धार्थनगर नगरपालिका–९ मा बसोबास गर्दै उपचारको आशामा सहयोगी मनहरू खोजिरहेका छन्।
डाक्टरहरूका अनुसार, पाँच वर्ष नपुगेका बालबालिकाहरूलाई “कक्लियर इम्प्लान्ट” प्रविधिबाट उपचार गर्दा सुन्ने र पछि बोल्न सक्ने सम्भावना बलियो हुन्छ । एक जनालाई यस्ता उपकरण र औषधीलगायत सम्पूर्ण उपचारमा करिब २० लाख रुपैयाँसम्म खर्च लाग्नेछ। दुई बच्चाको कुल खर्च ४० लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।
आमा सुनिता भन्छिन्, “एउटा मेशिन मात्रै १६ लाख पर्छ, त्यसमा औषधी, चेकजाँच, अपरेसन र पुनः प्रशिक्षण गर्नुपर्ने हुँदा हामीले अनुमान गरिसकेका छौं कि ४० लाखभन्दा कममा सम्भव छैन।” काठमाडौंस्थित टिचिङ अस्पतालमा जाँच गरिसकिएको भए पनि आर्थिक अभावले औषधीसम्म निरन्तर दिन सकिएको छैन।
“हामी आमाबाबु भएर आफ्ना छोराको उपचार गर्न सक्ने हैसियतमा छैनौं भने हामीसँग आमाबाबु भन्न पाइने अधिकार नै छैनजस्तो लाग्छ,” सुनिता कार्कीको पीडाले हरेक संवेदनशील मन चिसो बनाउँछ।
उहाँहरू अहिले संघसंस्थाहरू, सामाजिक अभियन्ता, सञ्चार माध्यम र मनकारी व्यक्तिहरू समक्ष हात फैलाउँदै सहयोगको अपिल गर्दै हुनुहुन्छ। साना नानीहरूले संसार सुन्न सकून्, “आमा” भनेर बोल्न सकून् भन्ने सपना पुरा गर्न आज तपाईंको सानो सहयोग अपरिमित आशा बन्न सक्छ।

