पशुपति यादव /लुम्बिनीखबर
रोहिणी, २१ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले आज (शनिवार) एक कार्यक्रमको आयोजना गरि एसईई उत्तीर्ण गरेको विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप साईकल वितरण गरेको छ।
विद्यालय घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि रोहिणी गाउँपालिका अन्तर्गतका समुदायिक विद्यालयका विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो।

२०८१ सालमा एसईई उत्तीर्ण गरेका छिपागढ माध्यमिक विद्यालयका अस्मिता यादवले ३.६६ जी.पी.ए ल्याएर रोहिणी गाउँपालिकामा प्रथम भएकी छन् भने पिपरहवा माध्यमिक विद्यालयका साधना यादवले ३.६५ जीपीए ल्याई पालिका स्तरमा नैं दोस्रो स्थान प्राप्त गरेकी छन्।

विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आवतजावतमा सहयोग पुग्ने हेतुले साईकल बितरण गरिएको गाउँपलिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो। टाढा दूरदराजमा कलेज क्याम्पस भएकोले यहाँको विद्यार्थीहरु बिचमै अध्यापन छोड्नु पर्ने बाध्य भएको विषयलाई ध्यानमा राखी उच्च शिक्षा हासिल गर्न र यातायातको समस्याबाट राहत दिलाउन साईकल वितरणको गरिएको हो । यस कार्यक्रमले विद्यार्थीहरुको यातायातको समस्याको समाधान हुने विश्वास अध्यक्ष यादवले व्यक्त गर्नुभयो।
अध्यक्ष यादवले भन्नुभयो, -” शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकाहरुलाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्छ । गाउँपालिकाभित्र सञ्चालित रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तरका लागि आफू लागि परेको छु ।”
स्कूल र घरबीचको दूरीले शिक्षा प्राप्तिमा बाधा नपुगोस र पिछडिएका समुदायका विद्यार्थीहरूलाई स्कूलमा नियमित उपस्थिति सुनिश्चित गर्न र शिक्षामा समानता र समावेशीकरणलाई प्रोत्साहन गर्नका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने यादवले प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा उपाध्यक्ष शिवाकान्ती हरिजनले, -“शिक्षा समृद्धिको जग हो । शिक्षा समृद्धि र प्रगतिको आधार हो।” शिक्षा एउटा यस्तो माध्यम हो, जसले व्यक्तिको जीवन, समाज र राष्ट्रलाई समृद्ध बनाउँछ। शिक्षाले व्यक्तिको ज्ञान, सीप र आत्मविश्वास वृद्धि गर्छ। यसले रोजगारीका अवसरहरू सिर्जना गर्छ र आर्थिक स्वतन्त्रता प्रदान गर्छ।
यस कार्यक्रम पश्चात् ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई स्कूलसम्मको पहुँच सहज हुने र शिक्षामा समानता ल्याउन लागू हुन्छ। यस्ता कार्यक्रमहरूले लामो दूरीका कारण स्कूल छोड्ने दरलाई कम गर्न र शिक्षामा प्रोत्साहन गर्न मद्दत उपाध्यक्ष हरिजनले बताउनुभयो।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा उत्तीर्ण भएका १२९ जना विद्यार्थीहरूलाई गाउँपालिकाले साईकल वितरण गरिएको शिक्षा शाखा प्रमुख राम निवास चौधरीले बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम कर्ण कुमार क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।