भैरहवा, साउन १८ । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि., ओमसतिया–१, रुपन्देहीले आ.व. २०८१/०८२ को समग्र वित्तीय तथा गैर वित्तीय कारोबारको वार्षिक समीक्षा कार्यक्रम हिजो संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष डि.बि. थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा कर्मचारी व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रवन्धक लक्ष्मण काउचाले प्रस्तुत गरेको प्रतिबेदन अनुसार संस्थाले आ.व. २०८१/०८२ मा आय तर्फ ८७.४३ प्रतिशत र खर्च तर्फ ८६.८२ प्रतिशत प्रगति हासिल गरेको छ। आर्थिक संकुचनको अवस्था रहँदा पनि सदस्यहरूको विश्वासका कारण कुल पूँजीमा १२.९७ प्रतिशत वृद्धि भएको र समग्र वार्षिक लक्ष्यको ७०.६३ प्रतिशत प्रगति हासिल गरिएको जानकारी गराइयो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सल्लाहकार जीतबहादुर रास्कोटिले सहकारी सदस्यसँग जोडिने गतिविधिमा अझ तीव्रता आवश्यक रहेको धारणा राखे। सल्लाहकार धनबहादुर खड्काले प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ उत्साहजनक प्रगति होस् भन्ने शुभकामना व्यक्त गरे।
त्यसैगरी, सल्लाहकार लक्ष्मीदेवी केसीले सहकारी अभियानप्रति गलत भ्रम फैलाउने प्रयासहरू भइरहेका सन्दर्भमा सत्य सूचनाको प्रवाहमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्।
पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मणकुमार श्रीसले व्यवस्थापन समूहले कठिनाइका बीच पनि पारदर्शी र यथार्थपरक प्रतिबेदन तयार गरी प्रस्तुत गरेकोमा धन्यवाद दिँदै आर्थिक संकुचनको चुनौतीपूर्ण अवस्थामा सकारात्मक परिणाम ल्याउनु उपलब्धिपूर्ण रहेको बताए। उनले कर्जा लगानीमा केही सिथिलता देखिएको र तरलता बढ्दो अवस्थामा रहेकाले नयाँ लगानीको उपाय खोज्न नेतृत्व र व्यवस्थापन पक्ष सहकार्यमा लाग्नुपर्ने सुझावसमेत दिए।
संस्थाले गएको आर्थिक वर्षको अन्त्यमा रु. ९० करोड ३५ लाख ६ हजार ७ सय ३३ रूपैया र ४२ पैसाको वासलात बनाएको र हालसम्म ७ हजार १ सय ७८ जना सदस्य संख्या रहेको जानकारी दिइएको छ। केन्द्रीय कार्यालयसहित संस्थाले दुई वटा सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ।
सोही अवसरमा संस्थाले नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गर्नुका साथै एकजना स्वर्गीय सेयर सदस्यका आश्रितलाई सदस्य दुर्घटना बीमा रकम हस्तान्तरणसमेत गरेको थियो।
समीक्षा कार्यक्रमको सञ्चालन संस्था सचिव गोकुल पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाले राखेका थिए।
