भैरहवा, साउन १८ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्ना विशिष्ट शेयर सदस्यहरूका लागि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम तिलोत्तमा–१५ स्थित कोटिहवाको केन्द्रीय कार्यालयमा हिजो शनिबार सम्पन्न भएको हो।
सहकारी क्षेत्रमा देखिएको अविश्वास र अनिश्चितताका बीचमा सदस्यहरूको विश्वास कायम राख्न र पारदर्शिता सुनिश्चित गर्न यस अन्तरक्रियाको आयोजना गरिएको हो।
कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले सहकारीको वर्तमान अवस्था, जोखिम न्यूनिकरणका उपाय तथा आगामी रणनीतिबारे व्यापक प्रशिक्षण दिएका थिए। करिब १६१ जना विशिष्ट सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहकारीका अध्यक्ष गिरीप्रसाद पुनले शिक्षा, तालिम सूचना सिद्धान्त अन्तरगत सदस्यहरूलाई सचेत बनाउने प्रयासमा संस्थाले निरन्तर काम गरिरहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले पछिल्लो समय केही सहकारीहरूले जनताको पसिनाको धन दुरुपयोग गरेकामा दुःख व्यक्त गर्दै जनउत्थान सहकारीले यस्तो प्रवृत्तिलाई निस्तेज पार्दै उदाहरणीय भूमिका निर्वाह गरेको बताइन्। उनले भनिन्, “गल्ती गर्नेले कानून अनुसार सजाय भोग्नैपर्छ, जनउत्थानले त्यसका विरुद्ध कडा कदम चालेको छ।”
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले सहकारी ऐन र कार्यविधिको पालना गरी मात्र सहकारी संस्थाहरू सुरक्षित र विश्वसनीय बन्न सक्ने धारणा राखे। उनले जनउत्थान सहकारीलाई देशकै नमूना संस्था भएको बताउँदै सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न सुझाए।
कार्यक्रममा साकोस संस्थापक अध्यक्ष मेखराज पुन, निवर्तमान अध्यक्ष ज्ञानू पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर हरि अधिकारी, पूर्व उपमेयर उमा अर्याल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट सदस्यहरूले जगेडा कोष, एचकेयर, तरलता, बचत कोष, बीमा योजना, सामाजिक उत्तरदायित्व, कर्मचारी व्यवस्थापन र संचालकहरूको भूमिकामा समेत अन्तरक्रिया गरे।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष सरु रानाले राखेकी थिइन् भने सञ्चालन सचिव अन्जु जैंसीले गरेकी थिइन्।
२०८२ असार मसान्तसम्म कुल सम्पत्ति ४४४ करोड नाघाएको छ। ३३३ करोडभन्दा बढी कर्जा लगानी र २४५ करोड बचत संकलन गरिसकेको छ। जगेडा कोष ४० करोड ४७ लाख, तरलता ९० करोड ९३ लाख रुपैयाँ छ। संस्थामा ४० हजारभन्दा बढी शेयर सदस्य, १० हजारभन्दा बढी सञ्चि सदस्य र ७ हजारभन्दा बढी बीमा सदस्य छन्। मोबाइल बैंकिङ प्रयोगकर्ता ९,३४४ र रेमिट्यान्स सेवा प्रयोग गर्ने १,८८५ सदस्य छन्। शुद्ध बचत रकम १० करोड ७७ लाख रुपैयाँले संस्थाको दिगोपना र विश्वासनीयता पुष्टि गरेको छ।
