पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, साउन । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ ले वडा स्तरीय शिक्षा सुधार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८१ मा सञ्चालित शिक्षा सुधार कार्यक्रमलाई चालु वर्ष २०८२÷०८३ मा निरन्तरता दिने उद्देश्यले आयोजना गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालय जानसक्ने बालकालिकालाई नियमित पठाउने र पढ्न नसक्ने बालबालिकाहरूलाई पढ्न सक्ने बनाउने जागरण अभियान सञ्चालनमा ल्याइएको शिक्षा सुधार समितिले जनाएको छ ।
वडा नं. ६ अन्तर्गतका छोटकी रामनगर माध्यमिक विद्यालय, श्री भविष्य निर्माण आधारभूत विद्यालय, सगरमाथा आधारभूत विद्यालय, शमशेर स्मृति आधारभूत विद्यालय र मदरसा समेत गरी समुदायिक विद्यालय तथा मदरसा विद्यालयको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि ओमसतिया गाउँपलिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले शिक्षा बिनाको विकास सम्भव छैन् । पालिकाभित्र शैक्षिक गुणस्तर सुधारमा हामी सबै सरोकारवालाको ध्यानाकर्षण जरुरी छ । आउने दिनको नतिजा संगसंगै विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक पक्षलाई विशेष ध्यानमा राखि अगाडि बढनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले समग्र पालिकाको शिक्षा क्षेत्र सुधारमा सबैले आ–आफ्नो भुमिका निर्वाह गरेमा मात्र सम्भव छ । पालिकाभित्रको शिक्षालाई गुणस्तर बनाउन हामी सबै सरोकारवालाको भूमिका अपरिहार्य रहेको उपाध्यक्ष चौधरीको भनाइ छ ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले विगतको वर्षको नतिजालाई मात्र स्मरण गरेर सबै सरोकारवालाले आफ्नो जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता गरौं शिक्षा क्षेत्र आफै उत्कृष्ट बन्छ । सबै शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति लगायत अन्य विद्यालय र समुदायसंग जोडिएर रहेका व्यक्तिहरुले हाम्रो शिक्षाको अवस्था कस्तो छ परीक्षा फलको नतिजा कस्तो छ, विद्यालयको सम्पूर्ण गतिविधिको बारेमा चासो राखेमा मात्र शिक्षा नवीनतम सुधार गर्न सकिने विश्वास रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं.– ६ का वडाध्यक्ष अध्यक्ष शिवकुमार धवलले आफ्नो सन्तान झैँ शिक्षकहरूले विद्यार्थीहरूलाई माया गरी शैक्षिक जगतलाई उचाइमा पु¥याउनु पर्छ । हामीले शिक्षक अभिभावकलाई दोषी बनाउनुभन्दा आफ्नो जिम्मेवारी, कर्मशीलता र लगनशीलतामा विश्वस्त हुनु आवश्यक छ ।
कार्यक्रममा वडा नम्बर ६ भित्रका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थी, पूर्व शिक्षक शिक्षा सुधार समितिका सदस्यहरूलाई सम्मान गर्नुका साथै पूर्व शिक्षक शिक्षा सुधार समितिका सदस्य एवं आत्तरिक्त क्रियाकलापका संयोजक राम किसुन पासी द्वारा वार्षिक कार्ययोजना प्रस्तुत गरिको थियो ।
कार्यक्रम शिक्षा सुधार समिति सदस्य अमरसिंह चौधरीको स्वागत र शमशेर स्मृति आधारभूत विद्यालयका प्रधानाध्यापक बलिराम यादवको सञ्चालनमा गरिएको थियो ।