सरकारले गाउँमा निर्मित खानेपानी ट्याङ्कीको स्वच्छ खानेपानी प्रत्येक घरमा पुर्याउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा देखिएको छैन् ।
झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, भदौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२, आमा टोलमा निर्माण भएको खानेपानी आयोजनाको ट्याङ्की बनाइएको एक दशक बितिसक्यो, तर स्थानीय बासिन्दाहरूले अझै पनि खानेपानीको सुविधा उपभोग गर्न पाएका छैनन् ।
भौतिक संरचना तयार भए पनि सञ्चालनमा नआउँदा स्थानीयहरूले दैनिक स्वच्छ पानीको जोहो गर्न कठिनाइ भोगिरहेका छन् । ट्याङ्कीको संरचना जीर्ण बन्दै गएको छ भने सुरक्षाका लागि लगाइएको गेट पनि देखावटी मात्र भएको स्थानीयहरूको गुनासो छ ।
यो आयोजना अन्तर्गत ट्याङ्की निर्माण भएको १२ वर्ष भइसक्दा पनि पानी वितरण प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । स्थानीयका अनुसार, खानेपानीसँग सम्बन्धित सरोकारवालाहरूले घरघरमा पाइपलाइन पुर्याएको ६–७ वर्ष भइसकेको छ, तर पाइपबाट पानीको एक थोपा पनि बगेको छैन । “ वर्षौंदेखि पानीको आशा गरिरहेका छौं, तर यो आयोजना अधुरै रहेको छ । पाइप त पुर्याइयो, तर पानी कहिले आउँछ ?“ आमा टोलका एक स्थानीय बासिन्दाले गुनासो गरे ।

स्थानीयहरूले बताएअनुसार, ट्याङ्कीको संरचना पुरानो र कमजोर बन्दै गएको छ । “ट्याङ्की भत्कने अवस्थामा छ । सुरक्षाका लागि बनेको गेट पनि कुनै काम छैन, यो केवल देखावटी छ,“ अर्का एक स्थानीयले भने । नेपालका विभिन्न क्षेत्रमा खानेपानी आयोजनाहरूमा यस्ता समस्या देखिने गरेका छन्, जहाँ बजेट अभाव, प्राविधिक त्रुटि र व्यवस्थापकीय कमजोरीका कारण आयोजनाहरू अलपत्र पर्ने गरेका छन् ।
नगरपालिकाले यो आयोजना स्थानीय आवश्यकताका आधारमा रहेको छ, तर सञ्चालनका लागि आवश्यक बजेट, प्राविधिक जनशक्ति र मर्मतको अभावले यो उपयोगविहीन बनेको छ । यस्ता आयोजनाहरूमा भ्रष्टाचार र गलत व्यवस्थापनका कारण पनि ढिलाइ हुने गरेको स्थानीयहरूको आरोप छ ।
आमा टोलका बासिन्दाहरूले पानीको अभावमा दैनिक जीवनमा ठूलो कठिनाइ भोगिरहेका छन् । “हामीले चापाकलको पानी खानुपर्ने बाध्य छौं । यो आयोजना सञ्चालन भए हाम्रो जीवन स्वस्थमा सहयोग पुग्थयो,“ अर्का स्थानीयले भने । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एकीकृत खानेपानी व्यवस्थापनका लागि हालै राय सङ्कलनको काम भइरहेको छ, तर पुराना आयोजनाहरू सञ्चालनमा नआउँदा स्थानीयहरूको विश्वास घट्दै गएको छ ।
स्थानीय समुदायले यो आयोजना छिट्टै सञ्चालनमा ल्याउन माग गरेका छन् । “हामी धेरै समयदेखि पर्खिरहेका छौं । अब त हद भयो । यदि यो समस्या समाधान भएन भने हामी विरोधमा उत्रिन बाध्य हुनेछौं,“ आमा टोलका एक युवाको चेतावनी छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले सरकारले स्वच्छ खानेपानी प्रत्येक घरमा पुर्याउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा नदेखिएका कारण स्थानीय जनताको जीवन कष्टकर बनाइरहेको छ । स्थानीय प्रशासनले यो समस्याको समाधानका लागि तत्काल कदम चाल्नुपर्ने जोड्दार माग स्थानीयवासीहरूको छ ।