भैरहवा, भाद्र २२। चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले नयाँ कार्ययोजना निर्माण गरेको छ। शुक्रबार र शनिबार पाल्पाको तानसेन नगरपालिका–१ स्थित रोज रिसोर्टमा सम्पन्न वार्षिक कार्ययोजना बैठकले आगामी वर्षका लागि उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतासहितको कार्ययोजना तय गरेको हो।
संस्थाका अध्यक्ष सचिन रोक्काका अनुसार कार्ययोजनामा उद्योग–व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमशीलता, युवा सीप विकास, खेलकुद कार्यक्रम, नेतृत्व विकास, कर शिक्षा तथा लेखा तालिम सञ्चालन गर्ने योजना समावेश गरिएको छ। साथै, समग्र रुपन्देहीको विकास, राष्ट्रिय गौरव आयोजना, निजी क्षेत्रका समस्या समाधान र सरकारसँग परामर्श तथा सुझाव प्रस्तुत गर्ने निर्णयसमेत गरिएको छ।
कार्ययोजनामा शुभकामना आदानप्रदान, वृक्षारोपण, सरसफाइ, रक्तदान, क्यालेण्डर प्रकाशन, सडक खाना महोत्सव र सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ। बैठकले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकेको छ। ती उपसमितामा उद्योगी–व्यवसायी गुनासो सुनुवाइ, बजार प्रवद्र्धन, राहत, उद्योग प्रवद्र्धन, व्यापार, आर्थिक, स्वास्थ्य, सीमा तथा भन्सार सहजीकरण, महिला उद्यमी, कृषि, होटल तथा पर्यटन, शिक्षा, युवा तथा खेलकुद, बजार अनुगमन, प्रेस सहजीकरण तथा रात्रिकालीन व्यवसाय व्यवस्थापन सम्बन्धी उपसमिति रहेका छन्।
यस्तै बैठकले आगामी कार्तिकमा आयोजना हुने लुम्बिनी महोत्सव–२०८२ का लागि पनि विभिन्न उपसमिति गठन गरेको छ। बैठकमा कोषाध्यक्ष धिरज कुमार मल्लिकले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
बैठकले अब्दुल कयुम, राम प्रसाद भण्डारी, दिनेश गुप्ता र माया खनाललाई सचिवालय सदस्य तोकेको छ। त्यस्तै, निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको संयोजकत्वमा कार्यसमिति कार्यसम्पादन मूल्यांकन समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले स्वागत मन्तव्य दिनुभएको थियो भने निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो। महासचिव लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको बैठकमा कानुनी सल्लाहकार जगत बहादुर रायमाझी, चेम्बर अफ कमर्स लुम्बिनी सांस्कृतिक नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर गुरुङ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेललगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।