लुम्बिनीखबर
भैरहवा, २६ भदौ । रुपन्देही जिल्लामा भदौ २४ गते बेलुका ८:३० बजेदेखि लागू गरिएको कफ्र्यु आदेश भदौ २६ गते बिहीबार बिहान ७ देखि ९ बजेसम्म खुल्ला गरिएको छ। तर, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म पुनः कफ्र्यु आदेश जारी गरिएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम यो आदेश जारी गरिएको हो। कफ्र्यु अवधिमा कसैले आवतजावत गर्ने, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गरेमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण शान्ति सुरक्षामा खलल पुग्ने सम्भावनालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको बताउनुभयो। उहाँले शान्ति र सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।
