बिशन गुरुङ
भैरहवा असोज ५ । रुपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को बीसौँ साधारण सभा असोज ४ गते एकैदिन १० वटै सेवा केन्द्रमा एकसाथ सम्पन्न भएको छ। बिहान ११ बजे एकैपटक सुरु भएको साधारण सभामा सम्बन्धित सेवा केन्द्रका शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको कार्यकारी निर्देशक रनबहादुर थापाले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, जनउत्थान सहकारी २०५९ सालमा साविक टिकुलीगढबाट पाँच युवाको पहलमा ३१ जनाबाट एक–एक सय रुपैयाँ संकलन गरी स्थापना भएको हो। २०६३ कार्तिक १ गतेबाट औपचारिक रूपमा कार्यालय सञ्चालनमा आएको यो सहकारी अहिले करिब ३९ हजारभन्दा बढी शेयर सदस्य, ४ अर्ब ४४ करोडभन्दा बढी कुल पूँजीसहित रुपन्देहीकै मात्र नभई प्रदेशकै अग्रणी सहकारीका रूपमा स्थापित भएको छ।
विगत दुई दशकको अवधिमा संस्थाले सातवटा सहकारीसँग एकीकरण सम्पन्न गर्दै सहकारी एकीकरण अभियानलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेको छ। हाल १३ जना सञ्चालकमध्ये जम्मा पाँच जनाले मात्र ऋण उपभोग गरेको, जगेडा कोषको २२ प्रतिशत मात्र स्थिर सम्पत्तिमा लगानी गरिएको र निर्वाचन निर्देशिका २०८२ अनुसार आगामी २०८५ सालदेखि सञ्चालक समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको अध्यक्ष पुनको प्रतिवेदनमा उल्लेख छ। साथै, पदाधिकारीहरूले दुई कार्यकालभन्दा बढी बस्न नपाउने र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्ष तोकिएको नियम पनि प्रस्तुत गरिएको थियो।

संस्थाले हालसम्म ४० करोडभन्दा बढी जगेडा कोष संकलन गरेको छ भने २०८२ आषाढ मसान्तसम्म ११ करोड ९७ लाख रुपैयाँ शुद्ध बचत (मुनाफा) आर्जन गर्न सफल भएको छ। यसबाट सदस्यहरूलाई १० प्रतिशत लाभांश वितरण गरिएको छ। सहकारीले सहज ऋण सुविधा, प्रशासनिक शुल्क नलिई ऋण प्रवाह, कर्जा जोखिम कोषको व्यवस्था लगायतका सेवा निरन्तर प्रदान गर्दै आएको अध्यक्ष पुनले जानकारी दिनुभयो।
जनउत्थान सहकारीले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ। एशियन कन्फेडेरेसन अफ क्रेडिट युनियन्स (ACCU) बाट नेपालकै एक मात्र सहकारीका रूपमा “सिल्भर ब्राण्ड” प्राप्त गर्नु संस्थाको ऐतिहासिक उपलब्धि रहेको अध्यक्ष पुनले स्मरण गर्नुभयो।
कोषाध्यक्ष निलप्रसाद पुनले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्थिक मन्दीको चुनौतीबीच पनि संस्थाले सदस्यलाई बचत फिर्ता सेवा, आकस्मिक ऋण, रेमिट्यान्स लगायतका सुविधा प्रभावकारी ढंगले उपलब्ध गराइरहेको उल्लेख छ। उहाँले ४४४ करोडभन्दा बढी वासलात कायम गर्न सदस्यहरूको विश्वास र योगदान प्रमुख कारण भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।
यसअघि पनि संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान हात पारिसकेको छ। सहकारी व्यवसायमा उत्कृष्टता, करदाता योगदान, व्यवस्थापन, कोभिड–१९ महामारीमा कृषि एम्बुलेन्स सञ्चालनदेखि लिएर सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताका कारण जनउत्थानले प्रतिष्ठित अवार्ड र सम्मान प्राप्त गरेको छ।
जनउत्थान सहकारीका हाल १० वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन्। तीमध्ये कोटिहवा, भैरहवा (पहुँच), मणिग्राम, अमुवा (सुदृढ), ठुटिपिपल (पटाकसार), लुम्बिनी, थकालीचोक (रुद्रपुर), बुटवल (देविनगर), तामनगर र मुर्गिया सेवा केन्द्र प्रमुख रहेका छन्। साधारण सभाबाट भएको निर्णय प्रमाणिकरणका लागि प्रत्येक सेवा केन्द्रबाट तीन–तीन जना गरी ३० जना प्रतिनिधि चयन गरिएको सहकारीले जनाएको छ।
‘‘वित्तीय समाधानको लागि सबैको पहिलो रोजाइ जनउत्थान सहकारी’’ भन्ने नारासहित अघि बढिरहेको सहकारीले आफ्नो २०औं वार्षिक साधारण सभामार्फत भविष्यमा अझ प्रभावकारी, पारदर्शी र सदस्यमुखी सेवासुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।