logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    साझा प्रयासबाट आस्थाको यात्रा : टुगा आस्था विकास सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न


    २४ असोज २०८२ , शुक्रबार

    साझा प्रयासबाट आस्थाको यात्रा : टुगा आस्था विकास सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न

    बिशन गुरुङ


    भैरहवा । रुपन्देहीको ओमसतिया–१, ठुटीपिपलस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सातौं वार्षिक साधारण सभा एकाई बैठकमार्फत सम्पन्न गरेको छ।
    “टुगा आस्था विकासमा, मन पनि धन पनि” भन्ने नाराका साथ अघि बढिरहेको संस्थाको यस सभामा आर्थिक, सामाजिक र संस्थागत उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका रणनीतिहरू तय गरेको छ।

    सहकारीले ठुटीपिपल, कोटिहवा र भैरहवा सेवा केन्द्रका माध्यमबाट सञ्चालन गरेको एकाई सभाले १६ वटा प्रस्ताव पारित गर्दै आगामी निर्णय प्रमाणितका लागि ४० जना प्रतिनिधिहरू चयन गरेको छ। संस्थाको निर्णय प्रमाणित सभा शनिबार केन्द्रीय कार्यालयमा हुने सचिव गोकुल पोखरेलले जानकारी दिनुभयो।

    करिब दुई दशक अघि स्थापित आस्थाश्री, नेपाल टुगा र देवनारी विकास नामक तीन सहकारी संस्थाहरूले सहकार्यको भावनामा २०७६ साल साउन १ गतेदेखि एकीकृत सहकारीकोरूपमा कारोबार सुरु गरेका थिए। हाल संस्थाले रुपन्देही जिल्लाभर आफ्नो कार्यक्षेत्र विस्तार गरी ७ हजार १७८ जना सदस्यहरूलाई सेवा दिइरहेको छ। जसमा ३,७५० जना महिला, ३,४१४ जना पुरुष र १४ वटा संस्थागत सदस्य रहेका छन्।

    २०८१/८२ को आर्थिक वर्षको अन्त्यसम्म सहकारीको वित्तीय स्थिति उल्लेखनीय रहेको छ। संस्थामा ७ करोड ७८ लाख रुपैयाँ सेयर पूँजी, ६८ करोड २ लाख रुपैयाँ बचत निक्षेप, ६३ करोड २२ लाख रुपैयाँ ऋण लगानी र ६ करोड ५१ लाख रुपैयाँ संस्थागत पूँजी रहेको छ। कुल ९० करोड रुपैयाँभन्दा बढी पूँजी संकलन गर्दै सहकारीले ३० प्रतिशत तरलता कायम राखेको छ। हाल संस्थामा २१ जना कर्मचारीहरू कार्यरत छन्।

    सभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीहरूलाई कदरपत्र र शेयर सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो। त्यसैगरी, सबैभन्दा बढी बचत गर्ने १३ जना सदस्यलाई असल बचतकर्ता, र सबैभन्दा बढी कारोबार गर्ने १३ जना सदस्यलाई उत्कृष्ट कारोबारीको रूपमा सम्मान गरिएको थियो।

    कार्यक्रममा कोषाध्यक्ष शारदा देवी पौडेलले आर्थिक प्रतिवेदन, सचिव गोकुल पोखरेलले नीतिगत तथा आगामी योजनाको प्रतिवेदन, लेखा संयोजक रतन बहादुर भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाको अध्यक्षता डी.बी. थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पर्शुराम बास्तोलाले दिनुभएको थियो। कार्यक्रम सञ्चालन सचिव पोखरेलले गर्नुभएको थियो। सभामा प्रमुख अतिथि भूपराज भट्टराई, जिल्ला सहकारी संघका सहायक व्यवस्थापक रहनु भएको थियो।

    स्थानीय युवायुवती र महिलाहरूको पहलमा स्थापना भएको यो सहकारी अहिले रुपन्देहीकै अग्रणी विकास सहकारीमध्ये पर्छ। बचतलाई संस्कृतिमा रूपान्तरण गर्ने र ऋणमार्फत सदस्यहरूलाई आर्थिक स्वावलम्बन तर्फ लैजाने उद्देश्यका साथ टुगा आस्था विकास सहकारीले सहकार्य, पारदर्शिता र सेवा भावनालाई प्रमुख मूल्यकारूपमा अघि सारेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.