बिशन गुरुङ
भैरहवा । सियारी गाउँपालिका–१, मधुवनस्थित घागरा खोलाको किनारमा हालसम्म देखिएको भन्दा फरक र अचम्मलाग्दो दृश्यले गाउँभरि सनसनी पैदा गर्यो। कार्तिक ८ गते बाख्रा चराउन गएका स्थानीय शिवप्रसाद चौधरीले खोलाको छेउमा अनौठो हलचल देखे। नजिक गएर हेर्दा उनले ढुंगाजस्तै देखिने तर जीवित कछुवा भेटे, जसको तौल ११ किलो १३० ग्राम थियो। “यति ठूलो कछुवा त मैले जीवनमा कहिल्यै देखेको थिइनँ। एकछिन त लाग्यो, यो सपना हो कि के हो,” चौधरी सम्झन्छन्।
कछुवालाई सुरक्षित रूपमा घर ल्याएपछि गाउँमा नयाँ पाहुनाको चर्चा निकै फैलियो। केहीले यसलाई भगवान् विष्णुको अवतारसमेत मानेर श्रद्धापूर्वक पूजा–आराधना गरे। करिब एक हप्ता बिहान–साँझ दीयो बाल्ने, फूल चढाउने र प्रसाद अर्पण गर्ने क्रम चलिरह्यो। कछुवालाई हेर्न टोल–टोलबाट भीड लाग्यो—कोही आश्चर्य मान्दै फर्किए, कोही हात जोडेर प्रार्थना गरे।
केही व्यक्तिले पाँच सय रुपैयाँ किलोका दरले कछुवा किन्नसमेत प्रस्ताव गरे। तर चौधरीले बिक्री प्रस्ताव अस्वीकार गर्दै भने, “यस्तो अद्भुत जीव बेच्ने कुरा मनले मान्दैन।” घागरा खोलामा पहिले पनि साना माछा, गंगेटा र सामान्य आकारका कछुवाहरू देखिँदै आएको तर यति ठूलो कछुवा भने पहिलो पटक फेला परेको उनले बताए। “यो कछुवा भेटिनु नै प्रकृतिले दिएको एउटा रहस्यमय उपहार जस्तो लाग्छ,” चौधरीले भने।