logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    परिवर्तित परिस्थितिमा युवा र नागरिक समाजको भूमिका विषयक बृहत छलफल कार्यक्रम सम्पन्न 


    २३ कार्तिक २०८२ , आइतबार

    परिवर्तित परिस्थितिमा युवा र नागरिक समाजको भूमिका विषयक बृहत छलफल कार्यक्रम सम्पन्न 

    अन्जना चौहान । लुम्बिनीखबर

    लुम्बिनी, २३ कात्तिक । सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको प्रमुख आतिथ्यमा ‘मुलुकको परिवर्तित परिस्थितिमा युवा तथा नागरिक समाजको भूमिका’ विषयक नागरिक छलफल कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। 

    मुलुकको तीव्र परिवर्तनशील राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा युवा पुस्ता र नागरिक समाजको भूमिका कसरी प्रभावकारी हुन सक्छ भन्ने विषयमा विस्तृत खुल्ला छलफल भएको थियो। 

     

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको वर्तमान परिस्थितिमा युवा र नागरिक समाजलाई निष्क्रिय रहन नदिएर सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। “मुलुकको परिवर्तनले नयाँ अवसरहरू सिर्जना गरेको छ, तर यसलाई दुरुपयोग हुन नदिन युवाहरूले नै जिम्मेवारी लिनुपर्छ। नागरिक समाजले सरकारको नीति-निर्देशनमा सन्तुलित दबाब दिन सक्छ, जसले लोकतन्त्रलाई मजबुत बनाउँछ,” उहाँले भन्नुभयो। त्रिपाठीले संविधान प्रदत्त अधिकारहरूको सदुपयोग गर्दै युवाहरूलाई सामाजिक न्याय, वातावरण संरक्षण र आर्थिक विकासका क्षेत्रमा सक्रिय हुन प्रेरित गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष अधिवक्ता नरसिंह चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो, “लुम्बिनी बौद्ध विश्वविद्यालयले सधैं शान्ति, अहिंसा र सामाजिक सद्भावका विषयमा छलफललाई प्राथमिकता दिन्छ। यो कार्यक्रमले युवाहरूलाई बौद्ध दर्शनसँग जोडेर राष्ट्रिय विकासमा योगदान पुर्‍याउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।” उहाँले विश्वविद्यालयले युवा-केन्द्रित अनुसन्धान र कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाउनुपर्ने जानकारी दिनुभयो। 

    कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना धारणा राख्नुभएको थियो । युवा अभियन्ता तथा सामाजिक कार्यकरताले परिवर्तित परिस्थितिमा डिजिटल प्रविधिको भूमिका बारे भन्नुभयो, “सोशल मिडियाले युवाहरूलाई जागरणको माध्यम बनाएको छ, तर फेक न्यूज र विभाजनकारी प्रवृत्तिबाट सावधान रहनुपर्छ। नागरिक समाजले यसलाई एकीकृत प्लेटफर्म बनाउन सक्छ।” अर्का वक्ता, नागरिक समाजका प्रतिनिधिले आर्थिक असमानता र बेरोजगारीलाई युवा आन्दोलनको प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिनुभयो। “परिवर्तनको फाइदा सबै तहका नागरिकलाई पुग्नुपर्छ, यसका लागि पुराना राजनीतिक दलका नेतृत्वकर्ताहरु निष्पक्ष सम्पत्ति छानबिन गरी कानुनी दायरामा ल्याउनु पर्छ। नीति निर्माणमा नागरिक समाजले सक्रिय सहभागिता जनाउनु पर्छ,” एक वक्ताले भन्नुभयो।

    कार्यक्रममा सहभागीहरूले राजनीतिक अस्थिरता, जेन्जी पुस्ताको एजेण्डा, सुरक्षा जस्ता चुनौतीहरूबारे गहन बृहत छलफल भएको थियो। युवा उद्यमीहरूले आर्थिक स्वावलम्बनका लागि सहकारी र स्टार्टअपका सम्भावनाहरूबारे सुझाव दिए भने प्राध्यापकहरूले शैक्षिक सुधार र नैतिक मूल्यांकनको आवश्यकता औंल्याए।

    कार्यक्रममा अतिथि अब्दुल वाहिद मुसलमान, वडा नं ८ वडा अध्यक्ष राजेन्द्र जयसवाल र युवा अभियन्ताहरू, नागरिक समाजका अगुवा, प्राध्यापकहरू र विद्यार्थीहरूको  सहभागिता रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.