लुम्बिनीखबर
सिद्धार्थनगर,९ मङ्सिर । सिद्धार्थनगर नगरपालिकामा आजबाट “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२५” भव्य रूपमा सुरु भएको छ। यस वर्षको मूल नारा “प्रविधिको सही प्रयोग गरौँ ः लैंगिक हिंसा अन्त्य गरौँ” रहेको अभियानको पहिलो दिन नै सयौं नागरिकले लैंगिक हिंसाविरुद्ध ठोस प्रतिबद्धता व्यक्त गरेका छन्।

नगरपालिकाको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा सहभागी सरकारी कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधारणले एकै स्वरमा प्रतिबद्धताको शपथ लिए । “म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ । मैले हिंसा भएको देखेमा प्रतिकार गर्छु ।”
सोही प्रतिबद्धता लेखिएको ठूलो ब्यानरमा सहभागीले हस्ताक्षर गर्दै अभियानलाई ऐक्यबद्धता जनाएका थिए।
उपप्रमुख उमा अधिकारी ले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेपछि भनिन्, “आज यहाँ हस्ताक्षर गर्ने हरेक व्यक्तिले आफ्नो घर, छिमेक र अनलाइन संसारमा लैंगिक हिंसा देखे तुरुन्त बोल्नेछन् भन्ने विश्वास छ। हिंसा सहने र मौन बस्ने संस्कृतिको अब अन्त्य हुनेछ । यो हस्ताक्षर केवल कागजको होइन, हाम्रो मन र व्यवहारको परिवर्तनको संकल्प हो।”
नगरपालिकाले यो प्रतिबद्धता ब्यानरलाई १६ दिनसम्म हरेक वडा, विद्यालय र सार्वजनिक स्थलमा पु¥याएर अधिकतम नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखेको छ। डिसेम्बर १० मा समापन कार्यक्रममा सबै हस्ताक्षरसहितको ब्यानर सार्वजनिक गर्दै “लैंगिक हिंसा शून्य सिद्धार्थनगर” को घोषणा गर्ने योजना रहेको उपप्रमुख अधिकारी ले बताइन्।