अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, २१ मंसिर। नेपाली छोराको माया– जुन सीमा नाघेर पनि आमाकै वरिपरि घुमिरहन्छ। लुम्बिनी साँस्कृतिक नगरपालिका–११, मसिना गाउँ। यहाँका शिवहरी बनिया तीन महिना अघिमात्र बैदेशिक रोजगारीका लागि कतार उडेका थिए। सपनाहरू बोकेर गएका थिए– आमालाई राम्रो उपचार गराउने, सानोतिनो पक्की घर बनाउने, दिदीबहिनीको बिहे गर्ने। तर विदेश पुगेको एक महिनामै फोन आयो– आमा बिरामी हुनुभयो।
पहिले बुटवल लगियो। डाक्टरले भने, “नसा च्यापिएको छ, गम्भीर छ।”
शिवहरीको मन भक्कानियो। न खाना अडिन्थ्यो, न निद्रा पथ्र्यो। दिनरात एउटै चिन्ता– आमा।
घर फर्किन मन लाग्थ्यो, तर पासपोर्टमा दुई वर्षको करार थियो। साथीहरूले सम्झाउँथे, “विदेश भनेको यस्तै हो दाइ, सहनुपर्छ।” तर सहन सक्ने कुरा भएन। रातभरि फोन समातेर बस्थे– “आमा, म आइहाल्छु नि त!”
आमाले फोनमा भन्नुभयो, “छोरा, तँ नआइजा। म त ठिक हुँदैछु। तँ आफ्नो काम गर।”
दुई हप्ताअघि अवस्था झन् बिग्रियो। गोरखपुरको आनन्दलोक रिमेडियल रिसर्च सेन्टरमा नसा सम्बन्धी अपरेसन गर्नुपर्यो। दाजुभाइ सबैले आ–आफ्नो ठाउँबाट पैसा पठाए। अपरेसन सफल भयो। जब डाक्टरले “बिरामी पूरै खतरा मुक्त हुनुभयो” भने, शिवहरीको आँखाबाट आँसु र खुशी सँगै बगे।
उनले फोनमा आमालाई भने, “आमा, तिमी बाँच्यौ भने मलाई नयाँ जिन्दगी मिल्यो।”
आमाको स्वास्थ्य ठिक भएको खबर सुन्नासाथ शिवहरीको मनमा एउटै कुरा आयो– यो खुशी एक्लैले मात्र होइन, सबैसँग बाँड्नुपर्छ। उनले आफ्नो गाउँ मसिनाका ११ जना ज्येष्ठ महिलाहरूलाई न्यानो सल र एक जना ज्येष्ठ पुरुषलाई ज्याकेट किनेर पठाए। कुल १२ सेट कपडा।
जाडोको चिसोमा आमा–बुबा जस्तै उमेरका ती बूढा–बूढीहरूलाई न्यानो दिन पाउँदा शिवहरीलाई लाग्यो– आज मैले आमालाई मात्र होइन, १२ वटा आमाबुवालाई माया बाँडेको छु।
गाउँमा जब ती सल र ज्याकेट बाँडियो, बूढी आमाहरूले आशीर्वाद दिँदै भन्नुभयो, “छोरा, तँ जस्तै छोरो सबैको होस्। तेरी आमालाई सधैँ स्वस्थ राख्नु।”
शिवहरीले फोनमा सुने– उनको मनमा शान्ति छायो।
आज शिवहरीकी आमा दुर्गादेवी बनिया घरमा सबैसँगै हुनुहुन्छ। उहाँ हाँस्दै भन्नुहुन्छ, “मेरो छोरो विदेशमा छ, तर उसको माया यहाँ हरेक बूढी आमाको काँधमा ओढिएको सलमा छ।” यो कथा पैसाको होइन, मायाको हो।
एक छोराले आमालाई बचाउन जति सक्यो, त्यति गर्यो र आमालाई बाँचाएको खुशीले गाउँका १२ जना आमाबुवालाई न्यानो दियो।