logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धी बृहत् जनचेतनामूलक कार्यक्रम सुरु


    २१ पौस २०८२ , सोमबार

    रोहिणी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धी बृहत् जनचेतनामूलक कार्यक्रम सुरु
    oplus_2097152

    पशुपति यादव। लुम्बिनीखबर
    रोहिणी, पुस। रोहिणी गाउँपालिकामा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् जनचेतनामूलक कार्यक्रम सुरु भएको छ।
    सोमबार गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा यो कार्यक्रमको शुभारम्भ गरिएको हो।

    कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिका न्यायिक समिति प्रमुख शिवकान्ती हरिजनले सम्बोधन गर्दै भन्नुभयो, “गाउँपालिका भित्रका न्यायिक समितिको काम, कर्तव्य र अधिकार क्षेत्रअन्तर्गत पशु चौपाया, ज्येष्ठ नागरिकको रेखदेख र हेरचाह, बालबालिकाको संरक्षण, बोटबिरुवा संरक्षण , कुलो, पाटीपौवा, पोखरीजस्ता सार्वजनिक सम्पत्तिको स्वामित्व र संरक्षणसम्बन्धी विवादहरू स्थानीय तहमा आउने उजुरीहरूको आधारमा मेलमिलाप र निर्णयबाट समाधान गर्ने विश्वास दिलाउन चाहन्छु। यो कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने छ। साथै यो बृहत् कार्यक्रमले रोहिणी गाउँपालिकावासीहरूलाई कानुनी अधिकार र कर्तव्यबारे सचेत गराई स्थानीय न्याय प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। “

     

    कार्यक्रमका अध्यक्ष कमल रायमाझीले भन्नुभयो, “यो कार्यक्रमले राखेको उद्देश्यअनुसार मेलमिलापकर्ताहरू र सहभागीहरूले कानुनी ज्ञान प्राप्त गरी स्थानीय स्तरमा न्याय सम्पादनमा योगदान दिनुहुने विश्वास मैले लिएको छु। कानुनी सचेतनाले समाजमा विवादहरू कम हुनेछन् र मेलमिलापको संस्कृति बढ्ने अपेक्षा गरेका छौं।”

    गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै कानुनी सचेतनाको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा आउने साना–साना विवादहरूलाई मेलमिलापबाट समाधान गर्नु नै सबैभन्दा उत्तम विकल्प हो। यो कार्यक्रमले वडास्तरमा मेलमिलापकर्ताहरूलाई थप सक्षम बनाउने छ।”

    इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक रामभक्त भट्टराईले सुरक्षा निकायको भूमिकाबारे जोड दिनुभयो। उहाँले भन्नुभयो, “प्रहरी र स्थानीय न्यायिक समितिबीच समन्वय बढाउँदै कानुनी सचेतना फैलाउन यो कार्यक्रम महत्वपूर्ण छ। विवादहरू प्रहरीसम्म पुग्नुअघि नै मेलमिलापबाट समाधान हुन सके समाजमा शान्ति कायम रहन्छ।”

    कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शान्ति कुमारी यादवले भन्नुभयो, “महिला र बालबालिकासम्बन्धी कानुनी अधिकारहरूबारे सचेतना बढाउन यो कार्यक्रम विशेष रूपले केन्द्रित हुनेछ। हिंसा र विभेदका घटनाहरू न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक छ।”

    कार्यक्रममा विभिन्न वक्ताहरूले नियमित उपस्थिति भई कार्यक्रम अवधिभर कानुनी ज्ञान आर्जन गर्न सहभागीहरूलाई आग्रह गर्दै सिकाइको महत्वबारे विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न निकायका सरोकारवालाहरू, स्थानीय न्यायिक समिति सदस्यहरू, इलाका प्रहरी कार्यालय मेलमिलाप शाखाका प्रतिनिधि, वडा नं. १ देखि ७ सम्मका वडाध्यक्षहरू तथा कार्यसमिति सदस्यहरू, गाउँपालिकाको महिला तथा बालबालिका शाखा, सातै वडाका मेलमिलाप संयोजक एवं सदस्यहरू, धकधई सामुदायिक प्रहरी सेवा केन्द्र, विभन्न विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.