लुम्बिनीखबर
रूपन्देही, पुस । जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी महिला सेल प्रमुख प्र.ना.नि. छायाँ बिकले रोहिणी गाउँपालिकामा आयोजित कार्यक्रममा स्थानीय महिला तथा जनसमुदायलाई महिला हिंसा विरुद्ध प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको छ।
कार्यक्रममा बोल्दै उहाँले नेपालमा बढ्दै गएको महिला हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हिंसा न्यूनीकरणका लागि समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। कानुन उल्लङ्घन गर्ने जो–कोही पनि कानुनको कठघरामा उभिनुपर्ने स्पष्ट पार्दै उहाँले हिंसाका घटनाबारे लुकाउनुभन्दा प्रहरीमा जानकारी गराउन सबैलाई अनुरोध गर्नुभयो।
प्र.ना.नि. बिकले महिला, बालबालिका तथा कमजोर वर्गमाथि हुने हिंसा रोक्न प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सचेतना, आत्मविश्वास र कानुनी जानकारी नै हिंसा विरुद्धको मुख्य हतियार भएको बताउनुभयो।

कार्यक्रममा अधिवक्ता अनुप पोखरेलले मानव अधिकार तथा नागरिकका मौलिक हकअधिकारका विषयमा कानुनी सचेतना प्रदान गर्नुभएको थियो। उहाँले नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारबारे जानकारी लिँदै कानुनी प्रक्रिया बुझ्नु आवश्यक रहेको बताउनुभयो।
कानुनी सचेतना सम्बन्धी उक्त कार्यक्रममा अधिवक्ता पोखरेल र प्र.ना.नि. बिकले संयुक्त रूपमा प्रशिक्षण तथा जानकारी प्रदान गरेको रोहिणी गाउँपालिकाको सूचना शाखाले जनाएको छ।
रोहिणी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय महिलाहरू, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।