लुम्बिनीखबर
सिद्धार्थनगर, पुस। सिद्धार्थनगर नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनमा मनोमानी हेरफेर भएको भन्दै बहुमत वडा अध्यक्षहरूले तीव्र आपत्ति जनाएका छन्। नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा भएको निर्णयविपरीत बजेट शीर्षक परिवर्तन गरेको आरोप लागेको छ।
नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले यो विषयमा गम्भीर असन्तुष्टि व्यक्त गर्दै भने, “कार्यपालिकाको निर्णय एकातिर छ, बजेट अर्कोतिर छ। यो व्यक्तिकेन्द्रित र जनताको पक्षमा नभएको स्पष्ट छ।” उनले बजेटलाई तत्काल कार्यपालिका निर्णयअनुसार सच्याउन माग गरेका छन्, नभए आगामी नगर अधिवेशन तथा कार्यपालिका बैठकहरू बहिष्कार गर्ने चेतावनी दिएका छन्।
यसैगरी, वडा नम्बर १२ का अध्यक्ष कुमार गुरुङले बैठकमा आफ्नो असन्तुष्टि खुलेर व्यक्त गरे। “हामीले वडा स्तरमा आवश्यक योजनाहरू तयार पारेका थियौं। ती योजनाहरूअनुसार बजेट आउनुपर्ने थियो, तर विनियोजित बजेटमा एकरुपता छैन। कार्यपालिकाको निर्णयभन्दा फरक देखिएको छ,” उनले भने। गुरुङका अनुसार, जब उनीहरूले कार्यपालिका बैठकमा भएका निर्णयहरू र योजनाहरूको बारेमा जानकारी मागे, तब नगरपालिकाका पदाधिकारीहरूले देखाउन इन्कार गरे। यसले उनीहरूलाई थप सशंकित बनाएको छ। “यदि पारदर्शिता छैन भने हामी कसरी सहभागी हुन सक्छौं? हामीले कार्यपालिका बैठकमा भाग नलिने निर्णय गरेका छौं,” गुरुङले बताए।
नगरपालिकाले समयमै बजेट पुस्तिका छपाइ तथा वितरण गर्न नसक्दा हिउँदे अधिवेशनको संघारमा मात्र सार्वजनिक गरेपछि हेरफेरको तथ्य बाहिरिएको वडा अध्यक्षहरूको भनाइ छ। यसबाट बजेट प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभाव भएको देखिएको छ।
विरोधमा उत्रिएका वडा अध्यक्षहरूमा वडा नम्बर ४, १० र ११ का अध्यक्षहरू प्रमुख छन्। प्रवक्ता यादवका अनुसार बहुमत वडा अध्यक्षहरू यस विषयमा असन्तुष्ट छन्। नगरपालिकाको छैठौं नगर कार्यसमिति बैठकमा नै यो बजेट तथा योजनामाथि तीव्र विवाद देखिएको थियो।
वडा अध्यक्षहरूले कार्यपालिका निर्णयअनुसार बजेट पुनरावलोकनको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। यदि माग सुनुवाइ नभए थप विरोधका कार्यक्रमहरू अघि बढाइने उनीहरूको चेतावनी छ।