पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, पुस । रोहिणी गाउँपालिका-१ स्थित श्री बगहा माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवन (शौचालयसहित) निर्माण सम्पन्न भएको ७ महिना बितिसक्दा पनि उद्घाटन नहुँदा प्रयोगविहीन अवस्थामा रहेको छ। यसले विद्यालयको नियमित पठनपाठनमा प्रत्यक्ष असर परेको प्रधानाध्यापक प्रेमनाथ त्रिपाठीले बताउनुभयो।
यो विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ भने विगतमा +२ तहका चार ब्याच सफलतापूर्वक सम्पन्न भएका थिए। तर चालू वर्षदेखि +२ तह बन्द भएको छ। भवन अभावका कारण पुरानो भवनमा कक्षा सञ्चालन गर्नुपर्दा समस्या बढेको थियो। स्थानीय गाउँपालिका र प्रदेश सरकारको संयुक्त बजेटबाट निर्माण भएको नयाँ भवनले आशा जगाए पनि उद्घाटन नहुँदा विद्यार्थी तथा शिक्षकहरूले यसको उपयोग गर्न पाएका छैनन्।

विद्यालयमा हाल ४२३ जना विद्यार्थी अध्ययनरत छन्, जसमध्ये छात्र १८८ जना र छात्रा २३५ जना छन्। छात्राहरूका लागि सेनेटरी प्याड डिस्पोजलको व्यवस्था नहुँदा महिनावारीका बेला समस्या हुने गरेको छ। यसबाहेक कम्प्युटर ल्याब, लाइब्रेरी तथा खेल मैदानको अभावले अतिरिक्त क्रियाकलाप प्रभावित भएका छन्।
शिक्षक अभावको समस्या झन् गम्भीर छ। गाउँपालिका अनुदानमा कार्यरत गणित शिक्षक भानुशंकर कोहार र सामाजिक शिक्षक भेलई यादवलाई १० महिना अघि क्रमशः राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय र नव जीवन आधारभूत विद्यालयमा सरुवा गरिएको छ। तर उनीहरूको स्थानमा अझै कुनै शिक्षक पठाइएको छैन। प्रधानाध्यापक त्रिपाठीका अनुसार विषयगत शिक्षक अभावले पठनपाठन क्रमशः प्रभावित हुँदै गएको छ।
विद्यार्थीहरूले पनि यस्ता समस्याबाट पीडित भएको बताएका छन्। कक्षा ७ की छात्रा नेहा पासीले भनिन्, “हामीलाई नयाँ भवन छ तर प्रयोग गर्न पाइएको छैन। खेल मैदान नहुँदा खेलकुद गर्न पाइँदैन। शिक्षक कम हुँदा गणित र सामाजिक जस्ता विषय राम्रोसँग पढाइ हुँदैन। सेनेटरी प्याड फाल्ने ठाउँ नहुँदा लज्जित हुनुपर्छ।”
कक्षा ७ की करिश्मा कुर्मीले थपिन्, “विद्यालयमा कम्प्युटर छ तर शिक्षक नहुँदा चलाउन सिक्न पाइँदैन। खेल मैदान नभएर अतिरिक्त क्रियाकलापमा समस्या छ। नयाँ भवन चाँडै उद्घाटन भएर प्रयोग गर्न पाए राम्रो हुन्थ्यो। हामीले राम्रो शिक्षा पाउनुपर्छ।”
कक्षा ८ का विद्यार्थी निर्मला केवटले भने, “शिक्षक सरुवा भएर गएपछि विषय पढाइ प्रभावित भएको छ। गणित र सामाजिक पढाउने शिक्षक छैनन्। नयाँ भवन ७ महिनादेखि बन्द छ, उद्घाटन भएन। यसले हाम्रो पढाइमा असर परेको छ। सेनेटरी समस्या पनि छ। कम्प्युटर र लाइब्रेरीको दक्ष शिक्षक चाहिन्छ। खेल मैदान नहुँदा खेल्न पाइँदैन। गाउँपालिकाले चाँडै शिक्षक पठाउनुपर्छ।”
करन हरिजन (कक्षा ८) ले भने, “भवन बनिसके पनि प्रयोग नहुँदा समस्या छ। शिक्षक अभावले पढाइ राम्रो हुँदैन। हामी छात्राहरूका लागि सेनेटरी प्याड डिस्पोजल चाहिन्छ। खेल मैदान भए अतिरिक्त क्रियाकलाप राम्रो हुन्थ्यो। कम्प्युटर सिक्न शिक्षक चाहिन्छ।”
राज कहार (कक्षा ८) ले भने, “नयाँ भवन उद्घाटन भएर प्रयोग गर्न पाए राम्रो हुन्थ्यो। शिक्षक नहुँदा विषय छुट्छन्। हाम्रो विद्यालयमा धेरै छात्रा छन्, उनीहरूलाई सेनेटरी समस्या छ। खेल मैदान नहुँदा खेलकुद प्रभावित छ। गाउँपालिका र सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”
विद्यालय व्यवस्थापन तथा अभिभावकहरूले गाउँपालिका र प्रदेश सरकारसँग नयाँ भवनको तत्काल उद्घाटन, शिक्षक पूर्ति, सेनेटरी सुविधा, कम्प्युटर/लाइब्रेरी शिक्षक तथा खेल मैदान व्यवस्थापनका लागि माग गरेका छन्। यी समस्याको समाधान भएमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।