अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा चैत पूर्णिमाको अवसरमा परम्परागत रूपमा आयोजना हुने रुमिन्देई माई मेला यस वर्ष पनि ५ दिनसम्म सञ्चालन हुने भएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा मेला आगामी मिति २०८२ चैत १७ गतेदेखि २१ गतेसम्म चल्ने निर्णय भएको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षतामा बसेको विशेष बैठकले यो निर्णय गरेको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, वरिष्ठ वन अधिकृत कमलेश प्रसाद वर्मा, इन्जिनियर नविन कुमार कर्ण, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख होमनाथ रेग्मी, सशस्त्र प्रहरी बल वेश पडरियाका निरीक्षक विश्वजीत खवास तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा मेलाको मिति निर्धारणका साथै लुम्बिनी विकास कोषसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने, मेलाको व्यवस्थापन तथा समापनका लागि मूल समिति र विभिन्न उप(समितिहरू गठन गर्ने निर्णय भएको छ। यस्तै अन्य विविध विषयमा आवश्यक निर्णय लिने पनि बैठकले सहमति जनाएको छ।
रुमिन्देई माई मेला मायादेवी मन्दिर वरपर लाग्ने ऐतिहासिक तथा धार्मिक महत्वको मेला हो। स्थानीय परम्पराअनुसार मायादेवी मन्दिरलाई विगतमा रुमिन्देई माईका रूपमा पूजा गर्ने गरिन्थ्यो।
यस मेलामा नेपालका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्ला तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट हजारौं श्रद्धालुहरू आउने गर्छन्। भक्तजनहरूले मन्दिरमा पूजा–आराधना गर्ने, बालबालिकाको चुल्ठो काट्ने मुण्डन, टोपी चढाउने जस्ता परम्परागत कार्यहरू गर्दै पारिवारिक सुख–शान्ति, समृद्धि तथा मनोकांक्षा पूरा होस् भनी प्रार्थना गर्ने गर्दछन्।
यो मेला चैत पूर्णिमासँग जोडिएको छ, जसलाई राम नवमीसँग पनि सम्बन्धित मानिन्छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले मेलालाई व्यवस्थित, सुरक्षित तथा सभ्य बनाउन सबै सरोकारवालासँग समन्वय गर्ने बताएको छ।