logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा छुट्टै पहिचान बनाउँदै मर्चवारीमाई गाउँपालिका


    २२ साउन २०८३ , शुक्रबार

    रुपन्देहीमा छुट्टै पहिचान बनाउँदै मर्चवारीमाई गाउँपालिका

    असलम खाँन/लुम्बिनीखबर
    मर्चवार, २२ साउन । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी सुशासन र जनमुखी सेवा प्रवाहलाई एकसाथ अघि बढाउँदै रुपन्देहीमा छुट्टै पहिचान बनाएको छ ।
    योजनाबद्ध विकास, पारदर्शी प्रशासन र नागरिकको आवश्यकता केन्द्रित कार्यक्रमका कारण गाउँपालिकाले छोटो अवधिमै विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
    दीर्घकालीन सोचका साथ तयार गरिएको योजनालाई आधार बनाएर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाइ, खेलकुद तथा सामाजिक विकासका कार्यक्रमलाई तीव्रता दिएको छ ।
    स्थानीय आवश्यकता र जनचाहनालाई केन्द्रमा राखेर योजना छनोट, बजेट विनियोजन र कार्यान्वयन गरिएकाले विकासको प्रत्यक्ष लाभ नागरिकसम्म पुग्न थालेको गाउँपालिकाको दाबी छ ।
    गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर परिवर्तन गर्ने अभियानका रूपमा अघि बढाइएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘‘हाम्रो लक्ष्य भवन र सडक मात्र बनाउने होइन, स्वस्थ, शिक्षित, आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नु हो । त्यसैले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सामाजिक रूपान्तरणलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’’
    मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विकासको प्रमुख आधार बनाउँदै आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, सुरक्षित प्रसूति, नियमित खोप, पोषण सुधार तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।
    स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार, आवश्यक औषधि र स्वास्थ्य सामग्रीको नियमित आपूर्ति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन तथा ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएकाले स्थानीय नागरिकले सहज र गुणस्तरीय सेवा पाउन थालेका छन् । गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य कार्यक्रम, नसर्ने रोगको परीक्षण तथा समुदायमा आधारित स्वास्थ्य सेवाले गाउँपालिकाको स्वास्थ्य सूचकमा सकारात्मक सुधार देखिन थालेको जनाइएको छ ।
    कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउँदै गाउँपालिकाले आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, सिँचाइ सुविधा, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै आएको छ। किसानको उत्पादन वृद्धि र आम्दानी बढाउन अनुदान तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ ।
    युवालाई वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्न सीपमूलक तालिम, कृषि उद्यम, साना उद्योग तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिएका छन् ।
    प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिन प्रशासनलाई प्रविधिमैत्री बनाइएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारप्रतिको विश्वास सेवा प्रवाहबाट स्थापित हुन्छ । त्यसैले सुशासन, उत्तरदायित्व र पारदर्शितालाई संस्थागत गर्दै नागरिकमैत्री प्रशासन निर्माणमा केन्द्रित भएका छौँ । ’’
    गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिमार्फत सेवा विस्तारलाई प्रभावकारी बनाएको जनाएको छ ।
    उपाध्यक्ष आशा सिंहका अनुसार महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएका छन् । महिला सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकासका कार्यक्रम वडा तहसम्म विस्तार गरिएका छन् ।
    शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ । साथै खेलकुद, वातावरण संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापनमा समेत गाउँपालिकाले उल्लेखनीय काम गरिरहेको जनाएको छ ।
    सुशासन, विकास, सामाजिक उत्तरदायित्व र जनसहभागितालाई एकसाथ अघि बढाउँदै मर्चवारीमाई गाउँपालिका नागरिकमैत्री र समृद्ध स्थानीय सरकार निर्माणको लक्ष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ । स्थानीयवासीको सक्रिय सहभागिता र योजनाबद्ध विकास अभियानले मर्चवारीमाईलाई रुपन्देहीकै नमुना गाउँपालिकाका रूपमा स्थापित गर्ने आधार बलियो बन्दै गएको गाउँपालिकाको विश्वास छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.