लुम्बिनीखबर
रूपन्देही , १७ भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहतस्वरूप जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी कर्मचारीबाट राहतस्वरूप सङ्कलन गरिएको रकमबाट दिवंगत प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रहरी नायब महानिरीक्षक तथा प्रहरी प्रवक्ता अभि नारायण काफ्लेले जानकारी दिनुभयो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले रसुवा भोटेकोशी बाढीबाट भएको क्षतिका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४० करोड प्रदान गर्ने निर्णयसमेत गरेको छ।
बैठकले बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतक प्रहरी कर्मचारीका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
बाढीमा परी हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँग सम्पर्क तथा समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरिएको छ। मृतक प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्नुका साथै रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ।
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ।
बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही रु ५० हजार उपलब्ध गराउने निर्णय भएको छ।
त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारजनलाई खोजतलास, उपचार तथा सेवा–सुविधा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।
प्रहरी प्रवक्ता काफ्लेले बाढीबाट प्रभावित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको राहत, खोजी, उपचार र पुनःस्थापनालाई नेपाल प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो।