लुम्बिनीखबर
भैरहवा, ३० भदौ । खाद्य पदार्थको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने प्रक्रियामा स्वच्छता तथा गुणस्तर कायम गर्न उद्योगी तथा व्यवसायी जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा रूपन्देही उद्योग संघ, बुटवलको सहयोगमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर, खाद्य अनुमतिपत्र तथा उद्योगीले पालना गर्नुपर्ने मापदण्डका विषयमा जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण तथा बजार व्यवस्थापनमा निर्धारित मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो। खाद्य स्वच्छता उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले उद्योगी तथा व्यवसायीले उत्पादन प्रक्रियामै आवश्यक सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो। रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सुरक्षित र गुणस्तरीय उत्पादन उपभोक्ताको स्वास्थ्यसँगै उद्योगप्रतिको विश्वास कायम गर्ने आधार भएको बताउनुभयो। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि सरकारी निकाय र उद्योगीबीच नियमित संवाद तथा सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा खाद्य निरीक्षण अधिकारी गौरी हमालले खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित मापदण्ड र उद्योगीले अपनाउनुपर्ने सावधानीबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। खाद्य निरीक्षण अधिकारी प्रकाश भण्डारी तथा कम्प्युटर अपरेटर अनुप अधिकारीले खाद्य अनुमतिपत्रको अनलाइन प्रणाली, आवश्यक विवरण र आवेदन प्रक्रियाबारे जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले खाद्य स्वच्छता, गुणस्तर, खाद्य अनुमतिपत्र तथा अनलाइन प्रणालीसम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रममा स्थानिय ब्यवसायी, उपभोक्ता र सरोकारवालाको सहभागिता रहेको थियो ।