लुम्बिनीखबर
भैरहवा, १४ असोज । सिद्धार्थनगर सिटी अस्पतालमा नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ सुरु भएको छ। निजी स्वास्थ्य संस्थाबाट समेत सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आइतबारदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत अस्पतालमा सामान्य प्रसूति, जटिल प्रसूति तथा सिजेरियन (शल्यक्रिया) सेवा निःशुल्क उपलब्ध हुने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमले आर्थिक तथा भौगोलिक कारणले गुणस्तरीय प्रसूति सेवा लिन कठिनाइ हुने महिलालाई सुरक्षित स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्नेछ।
कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई यातायात खर्चबापत रु एक हजार उपलब्ध गराइनेछ। त्यसैगरी, गर्भावस्थामा कम्तीमा चार पटक नियमित गर्भ जाँच (एएनसी) गराउने महिलालाई रु आठ सय प्रोत्साहन रकम उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालको सूचना शाखाका अनुसार नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा सञ्चालनमा आएपछि सिद्धार्थनगर तथा आसपासका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले अस्पतालबाटै कार्यक्रमअन्तर्गतका सेवा प्राप्त गर्न सक्नेछन्। कार्यक्रमका लागि आवश्यक स्वास्थ्य पूर्वाधार, जनशक्ति तथा सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको अस्पताल प्रशासनले जनाएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेलले सार्वजनिक–निजी साझेदारीमार्फत निजी अस्पतालबाट समेत आमा सुरक्षा कार्यक्रम विस्तार हुनु सेवाग्राहीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको सन्दर्भमा सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो। अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले दक्ष स्वास्थ्यकर्मीमार्फत छिटो, सहज र गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अस्पतालजन्य संक्रमणको रोकथाम, सरसफाइ तथा सुरक्षित स्वास्थ्य वातावरणलाई विशेष प्राथमिकता दिइने बताउनुभयो।
उहाँका अनुसार अस्पतालमा प्रसूति सेवाका क्रममा आमा र नवजात शिशुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य मापदण्ड पालना गरिनेछ। आकस्मिक तथा जटिल अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने गरी सेवा व्यवस्थापनमा समेत ध्यान दिइएको उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति सुरज उप्रेतीले सुत्केरीपछिको अत्यधिक रक्तस्राव (पीपीएच) लगायतका जोखिमको रोकथाम तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवाको प्रभावकारी कार्यान्वयनसँगै सेवा तथा लागतसम्बन्धी दरलाई समयानुकूल पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रम अस्पतालका प्रबन्ध निर्देशक पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो। अस्पताल प्रशासनका अनुसार कार्यक्रम सञ्चालनसँगै सुरक्षित प्रसूति सेवाका लागि अस्पतालमा आउने सेवाग्राहीको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।