लुम्बिनीखबर
भैरहवा, १४ असोज । सिद्धार्थनगर–८, नारायणस्थानस्थित रूपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवसका अवसरमा शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरेको छ। विद्यालयमा शुक्रबार आयोजित प्रदर्शनीमा विद्यार्थीले विज्ञान, गणित, सामाजिक शिक्षा, प्राविधिक शिक्षा तथा अन्य विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री र नमूना प्रदर्शन गरेका थिए।
विद्यालयका प्रधानाध्यापक रुककुमार रायमाझीले प्रदर्शनीका क्रममा विद्यार्थीले तयार गरेका सामग्री तथा विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले विद्यार्थीको सिर्जनशीलता, प्रयोगात्मक सिकाइ र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कक्षाकोठामा सिकेका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्ने अवसरले विद्यार्थीमा खोज, अनुसन्धान तथा सिर्जनशील क्षमताको विकास गर्न सहयोग पुग्छ। विद्यालयले साधारण तथा प्राविधिक शिक्षालाईसँगसँगै अघि बढाउँदै विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिँदै आएको उहाँले जानकारी दिनुभयो।
वि.सं. २०१२ मा स्थापना भएको विद्यालयले स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको थियो।