लुम्बिनीखबर
शहबाज खान / कपिलवस्तु
कपिलवस्तु, कार्तिक ८ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ मा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने उच्छृङ्खल गतिविधि गरेको र सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, तौलिहवाका अनुसार गत कात्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा प्रयोग भएको रुटको विभिन्न स्थानमा साम्प्रदायिक सद्भाव बिगार्ने खालका गतिविधि भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूका आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास गरी कात्तिक ७ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कपिलवस्तु कृष्णनगर न.पा. १ सेमराका २३ वर्षीय बिक्की भन्ने बिकाश यादव, १८ वर्षीय गान्धी चौहान, र १८ वर्षीय सुनिल चौहान रहेका छन्। उनीहरूमाथि गोल घर एरिया र नैमिया मस्जिद अगाडिको बाटोमा धार्मिक सद्भावमा खलल पुग्ने खालका पोस्टर देखाई उच्छृङ्खल तथा गैरकानुनी गतिविधि गरेको आरोप छ। त्यसैगरी, कृष्णनगर न.पा. १ मदनपुरका १९ वर्षीय आर्यन मिश्रलाई प्रहरीले नियन्त्रणमा लिई कार्यालयतर्फ लैजाने क्रममा प्रहरी भाग्यौु भनी भ्रामक भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा पक्राउ गरिएको छ। त्यस्तै, कृष्णनगर न.पा. ११ रामनगरका २६ वर्षीय हरि नारायण पाललाई फेसबुकमा साम्प्रदायिक र धार्मिक सद्भावमा खलल पुर्याउने प्रकृतिका विषयवस्तु पोस्ट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि कानुन बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ।