लुम्बिनीखबर
सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपरलिग शनिबार देखि हुने भएको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा माघ २८ गते बाट सुरु हुने प्रतियोगिता चैत्र २ गते सम्म चल्ने संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो ।
क्रिकेट संघले शुक्रवार लुम्बिनी प्रेस क्लबमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएर भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुने प्रतियोगितामा ए.डिभिजनका ८ र बी. डिभिजनका १२ गरी २० वटा टिमको सहभागीता रहने संघका अध्यक्ष थापाले बताउनुभयो ।
सुरुमा बि डिभिजनका टीम बीच खेल हुने छ भने बी. डिभिजनबाट ४ टिम ए. डिभिजनमा प्रवेश गर्ने छन् र अन्तिम लिगमा १२ टिम बीच सुपरलिग हुने थापाले जनाउनुभयो । प्रतियोगितामा बिजेतालाई १ लाख रुपैयाँ र ट्रफी तथा उप–बिजेतालाई ५० हजार र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिव संजय गुरुङले जानकारी दिनुभयो ।
क्रिकेट संघले सगरमाथा इन्स्योरेन्स कम्पनी सँग सहकार्य गरेर प्रतियोगिता अबधिभर खेलाडी, कार्यसमिति तथा अफिसियलको १ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरेको छ । प्रतियोगिताको प्रमुख प्रयोजक नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका रहेको सचिव गुरुङले बताउनुभयो । प्रतियोगिताको बिजेता पुरस्कार रकम १ लाख रुपैयाँ एभरेष्ट कत्था मिल तथा उप–बिजेता पुरस्कार रकम ५० हजार रुपैयाँ रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं वि.के ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेम कुमार सेञ्चुरीले प्रयोजन गरेका छन् । नेपालका जिल्ला स्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीमा मात्रै आयोजना हुन्छ । आयोजकका अनुसार प्रतियोगितामा ए.डिभिजन तर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जी.आर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् ।
बी.डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँ मिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सेनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले कार्यक्रममा जनाउनुभयो ।