हालसम्म १ हजार २८० जनाले लाईसेन्स प्राप्त गरे
ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ११ असोज । नवलपरासीमा यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षा सुरु भएको छ ।
प्रयोगात्मक परीक्षा सुरु संगै यहाँका वासिन्दालाई सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि बुटवल धाउनुपर्ने बाध्यता हटेको स्थानीयहरुले बताउने गरेका छन् ।
नयाँ आर्थिक वर्षको साउन १२ गतेबाट प्रयोगात्मक परीक्षा सुरु भएपछि यस क्षेत्रका मानिसहरु सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवेदन फारम भर्ने क्रम बढ्दो रहेको उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले जनाएको छ ।
साउन १२ गतेबाट सुरु भएको प्रयोगात्मक परीक्षा हाल सम्म ५ औँ पटक सम्पन्न भएको यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
५ औँ पटक सम्म सम्पन्न भएको परीक्षामा हालसम्म १ हजार २ सय ८० जनाले परीक्षा पास गरि लाईसेन्स समेत प्राप्त गरेको यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका सुचना अधिकारीले जानाकारी दिए ।
पारदर्शी रुपमा सञ्चालन भएको सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षाले स्थानीयहरुलाई सुविधा दिएपछि सरकार र यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी प्रति जिल्लाका विभिन्न संघ संस्थाले कृतज्ञता ज्ञापन गरेका छन् ।
पछिल्लो समयमा यातायातबाट हुने दुर्घटना व्यवस्थापनका लागि सवारी चालकहरुले अनिवार्य रुपमा अनुमतिपत्र लिएर मात्र सवारी साधन चलाउन नियम लागु भएको देखिन्छ । सवारी साधन अनुसार ग्रेडिङ् गरी अनुमतिपत्र दिने नीति लागुभएपछि दुर्घटनाको ग्राफमा सुधार आएको ट्राफिक कार्यालय नवलपरासी सुचना शाखाले जनाएको पाइन्छ ।
अनुमतिपत्र लिई सवारी चलाउन पाउने नियम लागुभएपछि मानिसहरु सचेत भएर अनिवार्य रुपमा अनुमति पत्रको लागि आवेदन भरी प्रक्रियामा आएको देखिन्छ । नवलपरासीको यातायात विभाग कार्यालयले अनुमतिपत्र वितरणका लागि प्रक्रिया अगाडि बढाएको छ ।
नवलपरासीमा चालु वर्ष देखि अनुमतिपत्र वितरण गर्ने कार्य सुरु भएको छ । यस नवलपरासीमा अहिले सम्म ५ वटा व्याचलाई ट्रायल गराई नतिजा सार्वजनिक गरिएको सुचना शाखाले जनाएको छ । सर्वप्रथम साउन १२ गते पहिलो भएको मोटरसाइकल लाइसेन्सको ट्रायल ३२७ जनाको नाम समावेश भएको थियो । जसमा मध्ये २५३ जना पास भएका थिए भने ६२ जना फेल र १२ जना अनुपस्थित भएको यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका प्रमुख मुक्ती प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
दोस्रो पटकको ट्रायल साउन १९ गते भएको र जसमा पास २७४, फेल ६८ र अनुपस्थित १२ जना गरी ३५४ जनाको नामावलीमा समावेश भएको थियो । तेस्रो पटक साउन २६ गते भएको जसमा पास हुनेको संख्या २४४, फेल हुनेको संख्या ८९ र अनुपस्ति १४ जना गरी ३४७ जना समावेश भएको सेवा कार्यालय नवलपरासीका प्रमुख पाण्डेयले बताउनुभयो ।
चौंथो ट्रायलमा पास समावेश हुनेको संख्या ५३६ र पास हुनेको संख्या २६० रहेको छ । पाँचौं ट्रायलमा सहभागिहुनेको संख्या ४२५ र पास हुनेको संख्या २४६ रहेको सेवा कार्यालय नवलपरासीले जनाएको छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको सिंहदरवारको अधिकार गाउँगाउँमा पुराउने अभियान अहिले नवलपरासी सम्म यातायात व्यवस्था विभागले पुराएको छ । यस्ता सेवा कार्यालयहरु जनतालाई सहज र सरलरुपमा सेवा लिन सक्ने स्थानमा पुराउनु पर्दछ । परासीमा सञ्चालन भएको सवारी चालक अनुमतीपत्र वितरण प्रकृया पनि जनमुखी हुनु पर्दछ । यसका लागि स्थानीय वासिन्दा तथा कर्मचरी र जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण रहने छ ।