दिपक कुमार कलवार
सुर्यपुरा । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको उत्तरतर्फ पर्ने विशाल र प्राकृतिक सुन्दरताले भरिपूर्ण रुपन्देहीको गैडहवा ताल उचित संरक्षणको पर्खाईमा छ । यसलाई व्यवस्थित गर्न सके यो ताल पोखराको फेवालात जस्तै बनाउन सकिन्छ । प्राकृतिक हिसावले लुम्बिनी प्रदेश कै ठूलो दावी गरिएको रुपन्देहीको गैंडहवा तालले पोखराको फेवातालको झल्को दिने गरेको छ । गैंडहवा गाउँपालिका वडा नं ४ मा रहेको यो ताल ८४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यसको ५० बिगाहा क्षेत्र जलाशययुक्त छ । यहाँ दुई सय प्रजातिका चराचुरुङ्गी तथा २० प्रकारका घस्रने प्राणी रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । गाउँपालिकाले गैडहवा तालबारे बेलाबेलामा मिडिया भेटघाट गरेर जानकारी गराउने गरेको छ । यस तालमा डुंगा स्टीमर सञ्चालन गरिएको छ । पर्यटन विकासमा डुंगा चलाएर गाउँपालिका पर्यटनको विकास गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । लुम्बिनीक्षेत्रलाई पर्यटनको हव बनाउनका लागि गैडहवा ताल महत्वपुर्ण रहेको छ । यस तालमा डुंगा सञ्चालन भएपछि लुम्बिनी आउने पर्यटक यहाँ पनि आकर्षित हुने गरेका छन् । यसलाई व्यवस्थित र निरन्तरता दिन जरुरी छ । लुम्बिनीबाट १२ किलोमिटर उत्तरतर्फ रहेको यो तालमा अबदेखि बाह्रै महिना डुंगा सञ्चालन गर्न जरुरी छ । यति विशाल गैंडहवा ताल हालसम्म प्रचारप्रसारको अभावमा गुजे्रको थियो, डुंगा सञ्चालनपछि यसको थप प्रचार हुनेछ र पर्यटन प्रवर्धनमा पनि टेवा पुग्नेछ ।’ तालको दक्षिणमा रहेको लुम्बिनी र उत्तरमा रहेको दानापुर ताललाई जोडेर विकास गर्न सके यो एक महत्वपूर्ण जल पर्यटनको केन्द्र बन्न सक्ने गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल बताउनुहुन्छ ।
तालको गुरुयोजना अनुसार विकास निर्माणका कार्यहरु भैरहेको उपाध्यक्ष जैसवाल भन्नुहुन्छ । हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो सान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीेले बताउनुभयो । मावन निर्मित ठूलो ताल भने कपिलबस्तुको जगदीशपुर ताल रहेको जानकारहरु बताउँछन् । तर गैडहवा ताललाई पोखराको फेवा ताल जस्तै बनाउन सकिने बुद्धीजीवीहरु बताउँछन् । लुम्बिनी संग जोडिएको यो गाँउपालिकाले कृषि पर्यटन र पर्यावरणका क्षेत्रमा काम गरेर संसारभरका मानिसहरु यहाँ भ्रमण गराउन सकिन्छ । यसका लागि पालिकाले विभिन्न संघ संस्था र लुम्बिनी विकास कोष संग सहकार्य गर्ने योजना बनाएको गैडहवा गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो । गैडहवाका जनतालाई कृषि पर्यटन संग जोडेर विकास र समृद्धिमा यात्रामा लाग्ने अभियानमा आफुहरु रहेको वडा नं. ९ का वडा अध्यक्ष मिना क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र सिंह कुर्मी र वडा नं. ६ का वडा अध्यक्ष राजकुमार लोधले गैडहवालाई कृषिका साथै वन पर्यावरण र जलाशयक्षेत्रको विकास र बिस्तार गरि पर्यटनको आर्कषणको केन्द्र बनाउने योजना रहेको छ ।