ज्ञानेश्वर सहानी
नवलपरासी, ३० कात्तिक । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पाँचपेडाबाट भन्सार छलेर ल्याउँदै गरेको ८ लाख रुपैयाँ भन्दा बढीको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाले कपडाहरु भारतबाट भन्सार छलेर ल्याउँदै गरेको समयमा सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीको नेतृत्वमा ७ जनाको टोलीले अवैध कपडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलको जनशक्तिले बरामद गरेको कपडामा ३४४ थान मखमली लेडिज सुट जसको मूल्य ८ लाख ६० हजार रहेको कार्कीले बताउछन् । चाडपर्वलाई लक्षित गरी अवैधकर्मीहरुले सिमानाकाको भारतबाट अवैधरुपमा ल्याइएको कपडालाई सशस्त्र प्रहरीले बरामद गरेको छ । पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट तस्करी हुने गरे पनि वास्ता नगरिएको समाचारहरु प्रकाशित भएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो ।

सशस्त्र प्रहरीको सक्रियतासँगै दैनिक जसो चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्ससहितका अवैध सामान बरामद हुन थालेका छन् । विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला सशस्त्र प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थाले पछि अहिले विशेष टोली खटाएर नियन्त्रणका लागि परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले जनाएको छ । चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।