ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी , ७ माघ । बर्दघाट उद्योग वाणिज्य संघको निर्वाचनमा विजय हासिल गरेका पदाधिकारीहरुले पदभार ग्रहण गर्नु भएको छ ।
गत पुष २१ गते सम्पन्न भएको संघको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट विजयी हुनुभएका पदाधिकारीको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो । यसअघि पनि संघका अध्यक्ष रहनुभएका र पुनः निर्वाचित हुनुभएका संघका अध्यक्ष लेखनाथ न्यौपाने, बरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतम, वाणिज्य उपाध्यक्ष चन्द्र बहादुर दमाई, उद्योग उपाध्यक्ष टेक बहादुर बुढाथोकी, महासचिव गंगा प्रसाद पाठक, सचिव दिल्लीराम कंडेल, कोषाध्यक्ष जित बहादुर थारु, सह–कोषाध्यक्ष पार्वति भुसाल र सदस्यहरु घनश्याम पाध्या आचार्य, खुमानन्द बस्याल, प्रकाश घिमिरे, कृष्ण प्रसाद सापकोटा, रुविन तामाङ, घनश्याम थारु र सन्तोष श्रेष्ठले पदभार ग्रहण गर्नुभएको हो ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण पौडेलले प्रमाणपत्र प्रदान गर्दै पदभार ग्रहण गराउनुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत पौडेलले लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै सहज वातावरण निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सरिता भुषाल खनालले बर्दघाट उद्योग वाणिज्य संघले हालका चुनौतिहरुलाई चिर्दै अगाडी बढ्नेमा विश्वास गर्नुभयो । उहाँले आफू कानुन निमार्ण गर्ने स्थानमा रहेको भन्दै उद्योगीको समस्याहरु समाधान गर्ने प्रकृतिको कानुन निमार्ण गर्नेमा आफूहरु लाग्ने बताउनुभयो । सांसद भुषालले पछिल्लो समय मुलुकको अर्थतन्त्र खस्कदो अवस्थामा रहेको र यसको प्रत्यक्ष प्रभाव उद्योग र वाणिज्य क्षेत्रमा समस्या परेको बताउनुभयो । भुषालले बैंक तथा वित्तिय संस्थाहरुले सहुलियत व्याजमा लगानी गरे उद्योगीलाई सहज हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले उत्पादनको आधारमा कर लिने व्यवस्था गरिनुपर्ने र एकिकृत करलाई निरुत्साहन गर्नुपर्ने धारणा राख्नुभएको थियो । खुला सिमानाको कारण यस क्षेत्रमा अप्ठेरो अवस्था रहे पनि व्यवसायीहरुलाई बचाउन संघले अझै प्रयत्न गर्नुपर्ने पाठकले बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले बर्दघाट उद्योग वाणिज्य संघलाई महासंघको सदस्यता दिलाउन आफूहरुले पहल गरेको र त्यसमा सफलता प्राप्त गरेको बताउनुभयो । संघका अध्यक्ष न्यौपानले आफूले विगतदेखि नै व्यवसायीको हितमा कार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।