logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    प्रधानमन्त्री कपः ललितको ५ विकेटमा पुलिसको चौथो जित


    ९ माघ २०८० , मंगलबार

    प्रधानमन्त्री कपः ललितको ५ विकेटमा पुलिसको चौथो जित

    भैरहवा, माघ ९ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ ।बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जित सहज भयो । ललतिले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिए । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । एपीएफका लागि सन्दीप जोरा ६७ बलमा २५ रन जोड्दै नटआउट रहे । उनले २ चौका प्रहार गरे । निकै खराब सुरुवात गरेको एपीएफ एक समय ४०–७ को स्थितिमा थियो । अमर रौतेला र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अमर ललितकै बलमा क्याच आउट भएपछि पुलिस जिततर्फ अग्रसर भयो । अमरले ५४ बलमा ३ चौकासहित २३ रन जोडे ।

    प्रदीप ऐरीलाई सातौं ओभरमा गुमाएपछि सुरु भएको विकेट पतन रोक्न नसक्दा एपीएफ हारको सामना गर्न पुग्यो । प्रदीप ४ रन जोड्दै ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट स्लिपमा क्याच आउट भए । पुरण विक १ रन जोड्दै रनआउट हुँदा प्रज्वल शाही १३ रन जोड्दै ललितकै बलमा क्याच आउट भए । त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेल कुनै रन नथपी पेभेलियन फर्कंदा एपीएफ २५–५ को स्थितिमा पुग्यो । सुमित महर्जन २ र भुवन कार्की ४ रन जोडेर आउट भए । मौसम ढकाललाई ललितले दोस्रो बलमा बोल्ड गरे । अन्त्यमा रमेश कुर्मी रनआउट भएपछि पुलिसको जित पक्का भएको थियो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे । पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपीएफले लगातार विकेट लियो ।

    अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेल र करण केसी डक आउट हुँदा अमित श्रेष्ठ ८, रशिद खान ५ र ललित राजवंशी ४ रनमा आउट भए । एपीएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर रौतेला र रमेश कुर्मीले २–२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले समान १–१ विकेट लिए । पुलिसका ललित प्लेयर अफ द म्याच भए । एपीएफ यस हारसँगै ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । पुलिस भने ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.