नवलपरासीमा मनाईयो प्राण प्रतिष्ठा
ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ११ माघ । मित्र राष्ट्र भारतको उत्तरप्रदेशस्थित धार्मिक स्थल अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा भगवान श्री रामको सोमबार प्राण प्रतिष्ठा भएको छ । हिन्दूहरूका आराध्यका केन्द्र प्रभु राम लालाको जन्मस्थल मानिने अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा श्री राम लालाको भव्य रुपमा प्राण प्रतिष्ठा गरिएको हो ।
साथै श्री राम जीको विवाह नेपालकी छोरी सीता संग भएको हुदाँ उक्त दिन नेपालको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा महोत्सव कार्यक्रमको आयोजना गरी मनाएका थिए । यसै क्रममा सोमवार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदा उत्सव मनाउन पश्चिम नवलपरासीको जिल्लाको गाउँपालिका तथा नगरपालिकामा हिन्दु युवा समाजले दिप प्रज्वलन र बाजा–गाजाको साथ विशाल उत्सव ¥याली निकालि उत्सव मनाएको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र रामग्राम नगरपालिका भित्र मासु र मदिरा सेवन, बेचविखन तथा पशु पंछी काटमार नगर्न आग्रह गरिएको पालिका अध्यक्षहरुले बताएका थिए ।
अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नवलपरासी जिल्लाको तराईका हिन्दूहरूमा उत्सवको माहोल देखिएको छ । कतै हनुमान आरधना, हुनुमान चालिसा पाठ, राम धुन जस्ता धार्मिक अनुष्ठान , दिप प्रज्वलन र बाजा–गाजाको साथ विशाल उत्सव र्याली गरिएको हिन्दु युवा समाजले जानकारी दिएको छन् ।
नवलपरासीको परासीमा हिन्दु युवा समाजमा युवा सन्तोश सहानी, निरज रौनियार, दिपक साहनी, अभय यादव, माहि रफ्तार, वसन्त गोसाई लगायतका युवाहरुको अगुवाइमा महेशपुर देखि परासी भित्र १० हजार युवाहरुले सोमबार बाजा–गाजाको साथ विशाल उत्सव र्याली गरेको छन् ।
सरावल गाउँपालिका भित्र बर्दघाट कालिका मन्दिर सरक्षंण संस्थाका अध्यक्ष बिरेन्द्र यादवको अगुवाइमा सरावल गाउँपालिका भित्र ५ हजार युवाहरु द्वारा सोमबार बाजा–गाजाको साथ विशाल उत्सव र्याली गरेको छन् भने पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मा गाउँका राकेश गौड, पप्पू जयसवाल, गगन जयसवाल, श्यामलाल यादव, राजेश कहाँरको अगुवाइ तथा कुश्मा नगरवासीको सहयोगमा ३ हजार दिप प्रज्वलन गरिएको थियो ।
मन्दिरको गर्भ गृहमा से दिन रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिएको थियो । स्थानीय समय अनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । प्राण प्रतिष्ठामा केही नेपाली पूजारी पनि सहभागी छन् ।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा बसेका संचार माध्यमहरुले जनाएको छ ।