लुम्बिनीखबर
भैरहवा, १९ माघ । रुपन्देहीको देवदह नगरपालिका वडा नंं.–१ मा अस्थायी प्रहरी चौकी ढेकावर नवनिर्मित भवनको उद्धाटन गरिएको छ ।
बिहिबार कार्यालय ब्यारेक, हिरासत कक्ष तथा भान्साघरसहित नवनिर्मित भवनको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायत र देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा डीआईजी कडायतले नवनिर्मित भवनहरूको निरीक्षण तथा अवलोकन समेत गरेका गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै डीआईजी कडायतले अस्थायी प्रहरी चौकी ढेकावरको भवन निर्माण सम्पन्न भइ उद्घाटन भएसँगै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले प्रहरीलाई उर्जा र मनोबलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो । ‘नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम, नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरण, शाति सुरक्षा प्रदान गरी जनताको जिउधनको सुरक्षा गर्नेमा समेत यस चौकीले महत्वपुर्ण भुमिका खेल्नेछ, ’उहाँले बताउनु भयो ।
देवदह नगरपालिकाका प्रमुख (मेयर) ध्रुव प्रसाद खरेलले ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना भएको र अब देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति गर्न आवश्यक रहेकोमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले वर्तमान परिवेशमा आधुनिकीकरण, रुपन्देही जिल्लाको बढदो शहरीकरण, अपराधको नयाँ शैली र आयामहरुसँगै देवदह क्षेत्र तीव्र शहरोन्मुख क्षेत्र रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा शान्ति सुरक्षा प्रदान गरी जनताको जिउधनको सुरक्षा तथा अमनचयन कायम गर्न यो चौकीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नु भयो । देवदह नगरपालिकाको नियमित बजेटबाट करिब १८ लाख रुपैयाँमा पाँचकोठे अस्थायी प्रहरी चौकी निर्माण सम्पन्न भएको एसपी वि.क.ले जानकारी दिनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर कुँवर, नेपाल पत्रकार महासघं रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले आ–आफ्ना भनाइ राख्नु भएको थियो ।