logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बुद्धस्थल रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज


    ३ फाल्गुन २०८० , बिहिबार

    बुद्धस्थल रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज

    भैरहवा– गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई लिजमा दिने सम्झौता खारेज गरिएको छ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रलाई लिजमा दिने गरी निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग सम्झौता गरेको थियो । विकास कोषको मंगलबार बसेको कार्यकारिणी समिति बैठकले लिजमा दिने गरि गरिएका सबै सम्झौता खारेज गरेको हो
    कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको जनाइएको छ । पश्चिम नवलपरासीमा रहेको रामग्राम क्षेत्र गौतम बुद्धको अस्तुधातु समाधिस्थल रहेको ठाउँ हो । यस क्षेत्रको उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्न कोषले निजी कम्पनीसँग समझदारी गरेपछि चौतर्फी आलोचना भएको थियो ।
    यहीबीचमा संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको माघ २८ माघको बैठकले सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन कार्यान्वयन गर्दै कोषको बैठकले ती सम्झौता तथा कार्य खारेज गरेको हो । यसअघि कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।
    यस क्षेत्रमा यसअघि कोषसँग रहेको जग्गा र थप १ सय १६ बिघा जमिन अधिग्रहण गरी कोषले निजी कम्पनीको जिम्मा लगाउने गरी सम्झौता गरेको थियो । यस क्षेत्रको गुरुयोजना बनाएर विभिन्न देशका स्तूप निर्माण तथा गुम्बाहरू बनाउने योजना थियो । अर्थ र पर्यटन मन्त्रालयको स्वीकृतिबिना कोषले सम्झौतासहित योजना अगाडि बढाएपछि संसदीय समितिले रोक्न निर्देशन दिएको थियो ।
    कोषले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी द प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो । कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्नमात्र करिब १ अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे ५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
    विवादास्पद छविका लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा बिनाप्रतिस्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि भाडामा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयको स्थानीय जनता, सरोकारवाला र राजनीतिक दलले विरोध गर्दै आएका थिए । बौद्धग्रन्थ अनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तूप हो । यो स्तूप संसारका बौद्धमार्गीका लागि ठूलो महत्व छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.