logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लगानीकर्तालाई निराश बनाएको ‘भैरहवा विशेष आर्थिक क्षेत्र’


    १९ फाल्गुन २०८० , शनिबार

    लगानीकर्तालाई निराश बनाएको ‘भैरहवा विशेष आर्थिक क्षेत्र’
    • माधव ढुंगाना

    २२ वर्ष अघि भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण सुरु हुँदा उद्यमी व्यवसायी खुशी थिए । सेजमा उद्योग संचालन गर्न मुलुकभरिका व्यवसायीको चाशो बढ्न थाल्यो । उद्योग स्थापनाकालागि सेज प्राधिकरणसंग सम्झौता गर्न थाले । कतिपय व्यवसायीले बैंकबाट लोन लिएर भएपनि सेजमा उद्योग निर्माणपनि गरे । मुलुककै पहिलो निर्यातमुखी परियोजना भनिएको भैरहवा विशेष आर्थिक क्षेत्रमा पछिल्ला दिनमा भने व्यवसायी तथा लगानीकर्ताको आकर्षण भन्दा विकर्षण बढ्दै जान थालेको छ । सेजमा भनिए अनुरुपको सेवा सुविधा व्यवसायीलाई दिन नसकेपछि र सेजको भद्रगोल व्यवस्थापनले व्यवसायी तथा लगानीकर्तालाई हतोत्साहित बनाएको छ ।

    सेजमा उद्योग स्थापना गर्ने भनेर सम्झौता गरेका कैयन् व्यवसायीले वर्षौंअघि सम्झौता रद्ध गरिसकेका छन् । भने, लगानी गरेका अधिकांश व्यवसायी पछुतो मानेका छन् । २०५८ सालदेखि निर्माण कार्य थालिएको भैरहवा सेज अभैm पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । भैरहवा सेज कहिलेदेखि पुर्ण संचालनमा आउने हो ? सेजमा भनिए अनुरुपका सेवा सुविधा व्यवसायीले कहिलेदेखि पाउने हुन् ? कुनै अत्तोपत्तो छैन ।

    सेजमा दिने भनिएको सेवा सुविधा नदिने र लगानीकर्तालाई सेजले प्रोत्साहित गर्नुको सट्टा झन्झट र दुख दिने सरकारी परिपाटीको कारण सेजप्रति विकर्षण भएका व्यवसायीमध्येका एक हुन्, हालका सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान । सेजमा उद्योग संचालन गर्न तयार रहेका खानले अनेक हण्डर खानु परेपछि वर्षौ अघि सेजसंगको सम्झौता नै रद्ध गरे ।
    ‘सेजमा एकद्वार प्रणालीबाट सुविधा दिइने भनेर पहिला व्यवसायीलाई आकर्षित गरियो । पछि उद्योग स्थापना गर्न खोज्दा घरि यो पुगेन घरि त्यो पुगेन भन्दै फाइल हातमा बोक्दै काठमाडौं धाउदै व्यवसायीलाई महिनौं दिनसम्म अल्झाउन थालेपछि सम्झौता रद्ध गरेें’ नानो हर्वल प्रालिका संचालक समेत रहेका खानले भने, ‘सेजमा उद्योग लगाएपछि सरकारले आफ्नो तर्फबाट निभाउनु पर्ने दायीत्व र भूमिकाको सुनिश्चितता गर्न सकेन ।’ भैरहवा सेजमा उद्योग स्थापना गर्न तैयारी गरेका अर्का व्यवसायी सिद्धार्थ ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाललेपनि सेजसंगको सम्झौता रद्ध गरे । सम्झौता रद्ध गर्नुको कारणमा सेजमा संचालनमा आउन अति ढिलाई भएको र उद्योग स्थापनाकालागि सेजमा उपलब्ध हुनु पर्ने पुर्वाधारहरु तयार नभएको बताउछन् ।

    ‘भैरहवा सेजमा तेती ठूला प्रशासनिक भवन बनाइएपनि भन्सार, कर, भ्याट, प्रारम्भिक बातावरणिय प्रभाव मूल्याकंन र अन्य प्रशासनिक कार्य सम्पादन त्यहीबाटै हुनु पर्ने थियो’ उनले भने, ‘तर बिडम्बना आजसम्मपनि बिद्युतको ट्रान्सफरमर सब स्टेशन बन्न सकेको छैन ।’ चर्चा अति धेरै र काम अति सुस्त गतिमा हुने सरकारी परिपाटीका कारण भैरहवा सेजले २२ वर्ष मापनि पूर्णता पाउन नसकेको हो । नमुना सेज भन्दै अधिकांश मन्त्री, झण्डा फहराउदै निरिक्षणकालागि आउने र पुर्ण संचालनमा नआउदै आफ्नो नाम शिलालेखमा उल्लेख गर्न हतारिने परिपाटीको नमुना बन्न पुगेको छ, भैरहवा सेज ।

    ०७१ मंसीर २ गते तत्कालिन उपप्रधान तथा गृह मन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले भैरहवा सेजको पहिलो पटक उद्घाटन गरेका थिए । ०७३ फागुन ५ गते तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीले सेजको भवन भन्दै दोश्रो पटक उद्घाटन गरेको भैरहवा सेज कहिलेदेखि पूर्ण रुपमा संचालनमा आउने हो ? कुनै टुंगो छैन । ५२ बिघा क्षेत्रफलमा फैलीएको सेजमा १ हजार ४ सय देखि ३७ सय वर्ग मीटर सम्मका ६९ वटा उद्योग स्थापनाकालागि जमिनका प्लट छन् । सेजले विभिन्न पटक उद्योग स्थापनाकालागि प्रस्ताव आव्हान गर्दापनि धेरै उद्योगी उद्योग संचालनका लागि अनुमती लिएपनि सरकारको भनाइ र गराइमा फरक भएको र उद्योग स्थापनाकालागि आवश्यक भौतिक पुर्वाधार तयार नभएको भन्दै स्थापना गर्न भने उत्साहित हुन सकेका छैनन् । अहिलेपनि भैरहवा सेजमा उद्योगका लागि भनिएका धेरै प्लट खाली नै छन् ।

    मुलुककै पहिलो निर्यातमुखी परियोजना र नमुना भन्दै सरकारी स्तरबाट ब्याख्या गर्ने गरिएको भैरहवा सेजको भवनहरु पूर्ण रुपमा संचालनमा आउन नपाउदै जीर्ण बनिसकेका छन् । ठाउ ठाउमा भवन भत्केको छ । भित्तामा लेउ लागेर कुरुप देखिन्छ । भवन भित्र जताततै पानी चुहिएर जम्ने गर्छ । बिगत दश÷बाह्र वर्षदेखि भत्केको ठाउँमा वर्षेनी मरम्मत भन्दै लाखौं रकम खर्चिने गरेपनि अर्को वर्ष समस्या उस्तै । सेज परिसरमा निर्माण गरिएका कालोपत्रे सडक भत्किन थालिसेकेका छन् । वर्षौंदेखि बुट्यान काटेर सरसफाइ नगरिदा सेज परिसर झाडी र जंगलले ढाकेको छ । सर्प, स्याल, बदेल, निलगाइ लगायत्का जंगली जनावरको बासस्थान बनेको छ । नाली जाम भएकाले बर्षा याममा जताततै पानी जमेर डुबान र हिलोको समस्या उस्तै छ ।

    भैरहवा सेजमा उद्योग स्थापना गरेर अहिले पछुतो मानेका व्यवसायी मध्येका उक हुन्, शक्ति मिनरल्स प्रालिका संचालक दिपक कुमार झा । सेजमा भनिएजस्तो र सम्झौता गरेजस्तो सुविधा व्यवसायीले पाउन नसकेको गुनासो उनको छ । ‘ऐनमा सेज परिसरलाई भन्सार सरह मान्यता दिने भन्ने भएपनि व्यवहारमा छैन’ झाले भने, ‘बिजुली समेत राम्रो नपाइएकाले वारम्बार अवरुद्ध हुदा धेरै नोक्शानी बेहोर्नु परेको छ । सेजमा उद्योग संचालन गर्दा यस्तो हालत होला भन्ने सोचेकोपनि थिइन ।’ उनका अनुसार, भन्सार महशुल तिरेपछि भारतबाट लोड भएर आएका मालवाहक गाडीको ७२ घण्टा समय भित्रमा भन्सारबाट फर्किदा अन्य कुनै महशुल लाग्दैन । नत भन्सार परिसरमा माल लोड गर्न आएका भारतीय गाडीलाई कुनै शूल्क लाग्छ । तर, निर्यात्मुखि उत्पादनलाई प्राथमिकता दिइने सेजमा उत्पादित सामान लोड गरेर भारततर्फ जाने मालवाहक गाडीबाट एक दिनको प्रति गाडी १ हजार ७ सय रुपैया भन्सार शूल्क लिने गरिन्छ । ७२ घण्टाभित्र येही अनुपातले शूल्क लिने गरिएको आरोप उनको छ ।
    ‘यस वारेमा पाच÷छ वर्षदेखि कुरा गर्दै आएको छु र निवेदनपनि दिदै आएको छु’ उनले भने, ‘कस्लाई भन्ने ? कोसंग गुनासो गर्ने ? सरकारी निकाय बिचमैं एक अर्काबिच समन्वय छैन ।’

    भैरहवा सेजप्रति गुनासो गर्ने उनि एकमात्र व्यवसायी होइनन् । भैरहवा सेजमा अभैmपनि बिजुली, पानी जस्ता न्युनतम भौतिक पुर्वाधारपनि उपलब्ध हुन सकेको छैन । सेज प्राधिकरणले अभेैmपनि व्यवसायीलाई एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन सकेको छैन । भन्सार र सेजमा उल्लेख गरिएका नियम आपसमा बाझिने गरेको र सेजले सहजिकरण गर्न नसकेको गुनासो व्यवासायीको छ । सेज प्राधिकरणले भैरहवा सेजमा बिद्युत ट्रान्सफरमर सहितको सव स्टेशन राख्नकालागि टेण्डरको प्रकृया अन्तिम चरणमा पुगेको र अन्य पूर्वाधारहरु धमाधम तयार हुने क्रममा रहेको बताउदै आएको दश÷बाह्र वर्ष भयो । यद्यपी शवस्टेशन निर्माणको काम कहिलेदेखि अघि बढ्ने हो ? टुंगो छैन । शव स्टेशन निर्माणका लागि विनियोजन गरिएको बजेट वर्षेनी फ्रिज हुने गरेको छ ।

    सरकारले ऐन अनुसार उद्योगीलाई कुनै सेवासुविधा उपलब्ध गराउन सकेको त छैन नै । उद्योग स्थापना र संचालनकालागि २४ सै घण्टा उपलब्ध हुनु पर्ने बिजुली, एकद्वार सेवा प्रणाली, प्रारम्भिक वातावरणिय प्रभाव मुल्याकंन, भन्सार, बैंक, बिमा, कर लगायतका पुर्वाधार सरकारले तयार पार्न सकेको छैन ।
    भैरहवा सेजको वर्तमान यो भौतिक पूर्बाधारको अवस्थाबाट फरक छैन प्रशासनिक तथा सेवाग्राही दिइनु पर्ने सेवाको अवस्थापनि । सेजमा आधिकारिक र जिम्मेवार कर्मचारी कोहि छैनन् । चौकिदार र करारमा नियुक्ति गरिएका एक÷दुई जना सामान्य कर्मचारीले धानेका छन् । माथिल्ला तहका र जिम्मेवार कर्मचारीको अनुहार देखिदैन । नयाँ बनेका विभागिय मन्त्रीलाई अवलोकन तथा निरिक्षण गराउने स्थालोमात्र बनेको छ–भैरहवा बिशेष आर्थिक क्षेत्र ।

    ‘सेजमा उद्योग लगाउन भनेर सोधखोज गर्न आइरहन्छन् तर हामीलाई धेरै कुराको जानकारी नहुने भएकाले आधिकारिक रुपमा बताउन सक्दैनौं’ भैरहवा सेजमा कार्यरत नाम उल्लेख नगर्न आग्रह गर्दै एक कर्मचारीले भने । ‘तिरुपती मेटल इण्डष्ट्रिज’ का संचालक प्रशान्त अग्रवाल सेजमा भनिए अनुरुपको सेवा सुबिधा नपाइदा र भैरहवा सेजको अस्तव्यस्त रहेको प्रशासनिक परिपाटीले धेरै व्यवसायी पिडीत रहेको बताउछन् । उनको भनाइमा, व्यवसायीलाई परेको समस्या सहजिकरण गर्न सेज प्रशासनले वास्ता नगरेकाले सेजमा उद्योग स्थापना गर्नुमा नै अहिले व्यवसायीले पछुतो मान्न थालेका छन् ।

    ‘भनिए अनुरुपको कुनैपनि सेवा सुबिधा सेजमा पाउन सकिन । जिम्मेवार र आधिकारिक कर्मचारी नहुँनाले सामान्य काम र सिफारिश गराउनपनि काठमाडौंमैं धाउनु पर्ने बाध्यता छ’ अग्रबालले भनेका थिए, ‘अभिभावक बिहीन बनेको छ भैरहवा सेज । हामी व्यवसायी अभिभावक बिहीन सन्तानजस्तै ।’ सेजमा उल्लेख गरिए अनुरुपको सेवा सुबिधाको विषयमा अर्थ मन्त्रालय तथा भन्सारसंग मेल नखादा व्यवसायी धेरै पिडीत बन्नु परेको छ । भन्सार र सेज बिच समन्वय छैन । समन्वय गरेर सहजिकरणको भूमिका निभाउनु पर्ने जिम्मेवार सेजका पदाधिकारी तथा कर्मचारी आफ्नो दायीत्वबाट बिमुख छन् । सेजमा उद्योग स्थपनाकालागि आयातित सामानमा भन्सार महशुल नलाग्ने सेज ऐनमा भएपनि भन्सार नियममा त्यो समावेश नहँुदा व्यवसायी मर्कामा छन् ।

    ’सेजमा उद्योग लगाउन जग्गा लिजमा लिदा जे जे सुबिधा दिने भनेको हो त्यो केहीपनि पाइएको छैन’ अग्रवालले भने, ‘उद्योग लगाउने स्थालोसम्म आउने बाटो बनाउनकालागि माटो पुर्नमैं १० लाख खर्च भयो । पुर्बाधारपनि व्यवसायीले नै बनाउनु पर्ने हो भने सेजले के बापत पैसा लिने ?।’ भैरहवा सेजमा उप सचिव पदको दरबन्दी छ । अहिलेसम्म दरबन्दी अनुरुपको कर्मचारी भैरहवा सेजमा देखा परेका छैनन् । सेजबाट पाइने सेवा सुबिधा लिदै केन्द्रमा बस्ने र माथिबाटै निर्देशन लाद्ने परिपाटी छ । उनिहरुबाट सेजको अनुगमन, निरिक्षण नियमित रुपमा हुदैन । भवन मरम्मतको बर्षेनी ठेक्का लगाएर ठेकेदारकै भरमा छाडिन्छ । यसैको परिणाम हो, बर्षेनी भवन मरम्मतमा पैसा खर्च गर्दापनि पानी चुहिन बन्द नहुने ।

    काठमाडौं गोगंबु निबासी प्रकाश दर्शनलाई अष्ट्रेलियमा एमबिए अध्ययन पुरा गरेर आएपछि स्वदेशमैं निर्यातजन्य ठुलो उद्योग संचालन गर्न भैरहवा सेज रोजाइमा पर्यो । उद्योग स्थापनाकालागि दुई बर्षसम्म सेजमा धाउदापनि योजना सफल हुन सकेन ।‘सेजले ठूला ठुला कुरा गरेर हामी व्यवसायीलाई बेला बेलामा आशा देखाउदै जिस्क्याउन खोजेको अनुभुती भयो’ उनले भने, ‘दुई बर्षसम्म उद्योग स्थापनाकालागि सेजमा धाउदापनि नभएपछि अव सेजमा उद्योग संचालन गर्ने योजनालाई स्थगित गरेको छु ।’
    भैरहवा विशेष आर्थिक क्षेत्र आव २०५६। ०५७ देखि स्थापनाको कार्य अघि बढेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.