भैरहवा, २० फागुन । मानवता पहिलो धर्म हो । मानवले गर्ने हरेक कार्यहरु मानवतासँग जोगिएको हुन्छ । यस्तै मानविय कार्यलाई प्राथमितामा राखेको छ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले । सिद्धार्थनगर नगरपालिकाले अपाङ्ग भएका नागरिकहरूलाई पहिचान गर्दै घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिएको छ ।
पालिका भित्रका ‘क’ वर्गका महिला ११ जना, पुरुष १५ जना गरी २६ जना, ‘ख’ वर्गका महिला २९ जना, पुरुष ४९ जना गरी ७८ जना, ‘ग’ वर्गका महिला ४, पुरुष १५ जना गरी १९ जना र ‘घ’ वर्गका महिला ५ जना पुरुष, ५ जना गरी १० जना । सिद्धार्थनगर नगरपालिकाबाट हालसम्म १३३ जनाले अपाङ्गता परिचयपत्र पाएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कौशल्या चौधरीले बताउनु भयो ।
यस अघि सिद्धार्थनगर नगरपालिकाले अन्य वडाहरूमा घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको हो । यो कार्य निरन्तर चल्ने भएकाले यदि कुनै व्यक्ति अपाङ्ग भएको खण्डमा कागजातसहित नगरपालिकामा निवेदन दिएर सेवा लिनुहुन नगरपालिका उपप्रमुख उमा अधिकारीले बताउनुभयो । नेपालको संविधान २०७२ मा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककारूपमा उल्लेख छ । अपाङ्गले पाउनुपर्ने अधिकार सुनिश्चित गर्नको लागि पनि परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने छ ।