संजय कुशवाहा । लुम्बिनीखबर
नवलपरासी, २७ फागुन । पश्चिम नवलपरासीको प्रतापपुर आयुर्वेद औषधालयमा औषधी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । दुई महिनादेखि विभिन्न किसिमका औषधि अभाव भएपछि औषधालयमा आउने बिरामीहरू मर्कामा परेका हुन् ।
बिरामीहरू औषधि नहुँदा खाली हात फर्कन बाध्य भएका छन् । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत चार जना कर्मचारीले कार्यालय खोल्ने ,केही मात्रामा भएका औषधि दिने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन् ।
पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।
औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध नभएकोले उपचार गर्न कठिनाई भएको औषधालयका प्रमुख दिन बन्धु मिश्राले जानकारी दिनुभयो । साथै प्रतापपुर गाउँपालिकामा आयुर्वेद औषधालयको लागि बजेट छुट्टाएको छ तर गाउँपालिकामा दुई महिनादेखि औषधि खरिद गर्नको लागि आफू पटकपटक भन्दा पनि गाउँपालिका बेखबर भएको मिश्राले बताए ।
प्रतापपुर गाउँपालिका वडा न ४ बर्दघाटेमा संचालित रहेका गाउँघर क्लिनिकमा पनि औषधि नभएपछि त्यहाँका बिरामीहरू पनि मर्कामा परेका छन् । वडा नं। ४ का वडाध्यक्ष जन्त्री बरईले भन्छन् बिरामीहरू आयुर्वेद औषधि नपाएपछि म कहाँ आउने गर्छन् ।
औषधालयमा देखिएको औषधिको अभावका विषयमा आफूले पालिकामा पटकपटक भन्दा पनि अहिलेसम्म औषधि उपलब्ध हुनसकेको छैन । गाउँपालिकाले नै औषधि खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधिको अभाव हुन गएको वडाध्यक्ष बरईले बताए ।
प्रतापपुर आयुर्वेद औषधालयमा देखिएको औषधि अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो ।