भैरहवा, ७ असार । मायादेवी गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको हो ।
मायादेवी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त गाउँपालिका बनाउने योजना अनुरुप पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडाका लागि सबै मापदण्ड पुरा गरेपछि मायादेवी ४ लाई घोषणा गरिएको हो । यो आर्थिक वर्षमा वडामा रहेका ९५ प्रतिशत सुत्केरीहरुले स्वास्थ्य संस्थामा प्रसूति गरेकाले वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउँपालिका प्रमुख ध्रुवनारायण चौधरीले वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणाको प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश सरकारको निर्देशिकामा भए बमोजिमका मापदण्ड र प्रक्रिया पुरा गरेपछी प्रसूति सेवायुक्त वडा घोषणा गरिएको बताउनुभयो । घोषणा मात्र गरेर नहुने भन्दै दिगोपन र सुनिश्चितताका लागि वडावासी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबै जिम्मेवार बनेर लाग्नुपर्ने पालिका प्रमुख चौधरीको भनाई रहेको थियो । सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र गुण्डीका केन्द्र प्रमुख देबिदिन चौधरीको स्वागत मन्तव्य, विशिष्ट अतिथि मायादेवी गाउँपालिकाको प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, मायादेवी ४ का वडा अध्यक्ष तथा वडा प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक अरुणकुमार तिवारी, स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरी, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रभाष पन्थी, जनमत पार्टीका केन्द्रीय सदस्य संजयकुमार मिश्र, एमालेका प्रतिनिधि लाला प्रसाद लाेधले आफ्ना भनाई राखेका थिए भने स्वास्थ्य शाखाकी नर्सिङ्ग अधिकृत शर्मिला शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।