मानव जीवन प्राणी जगतमा सर्वश्रेष्ठ जीवन हो । सोच्न सक्ने, देख्न सक्ने र प्रयोगमा ल्याउन सक्ने क्षमता मानव जीवनमा मात्र छ । यो जीवनलाई नकरात्मक मार्ग भन्दा सकारात्मक मार्गमा हिँडाउनका लागि हामी सबैले प्रयास गर्न जरुरी छ । सकारात्मक सोचले मानिसलाई सफल र सक्षम बनाउन मद्दत गर्दछ । नकारात्मक सोचले मानिसलाई पश्चगमन र कुहुन मार्गमा पुराउँछ । त्यस कारण सकारात्मक सोचलाई संस्थागत गर्न जरुरी छ । सकारात्मक सोचले मानिसलाई सत्यमार्ग र सही दृष्टिकोणमा केन्द्रित गर्ने गर्दछ । मानिसको जीवन सुख, समृद्धि र शान्तिका लागि मानिसले सधै कुशल कर्म र सत्म वचनलाई ध्यान दिनु पर्दछ । आफू, आफ्नो घरपरिवार, आफु आवद्ध संघसंस्था र समाजमा सधै राम्रो पक्षलाई मात्र संस्थागत गर्ने काम मानिसले गर्नुपर्दछ ।सके सम्म र जानेसम्म सबैको राम्रो नै होस् भनेर सोचको विकास गर्नु पर्दछ ।मानिसले इज्यत, धन कमाएर पनि आफू भित्र सुख, शान्ति र समृद्धि पाउन सकेका हुदैनन् । त्यसैले मान सम्मान र पैसाले सुख र शान्ति प्राप्त हुदैन । आफले आफैलाई चिन्न सके र सकारात्मक सोच राख्न सके शान्ति प्राप्त गर्न सकिन्छ । जसले मानिसलाई खुसी पनि बनाउँछ । मानिसले जस्तो भूमिका निर्वाह गर्छ, त्यस्तै नतिजा प्राप्त गर्दछ भन्ने कुरा बिर्सन हुदैन । असल कर्म प्रति सबै विश्वास लिनुपर्दछ । कागती रोपेर सुन्तला फल्दैन भन्ने सोच मानिसमा आउनु पर्दछ । आफ्नो सोच र दृष्टिकोणलाई सकारात्मक मार्ग हिँडाउन सके मात्र व्यक्तिले घरपरिवार, समुदाय र सङ्गठनलाई सही मार्ग हिँडाउन सक्छ । राष्ट्र नेतृत्व तहमा बसेकाले पनि राम्रो सोचका साथ कामगर्न सके नेपालको विकास र समृद्धि पनि गर्न सकिन्छ । युग र समयको माग बमोजिम परिवर्तन गर्न र हुन आवश्यक छ । मस्तिष्कमा जे हाल्यो त्यही निस्कन्छ ,जे सोच्यो त्यही नै गरिन्छ । सुख, शान्ति र समृद्धि प्राप्तिको लागि हामी सकारात्मक बाटोमा हिँडनु पर्दछ । उज्यालो खोज्न उज्यालो नै लिएर हिँड्नु पर्दछ । सकारात्मक सोचले जीवनलाई ऊर्जा दिन्छ भने नकारात्मकले जीवन नर्कमा पुराउँछ । सोच र विचारले जन्माएका दृष्टिकोणहरू कहिल्यै मर्दैन तर त्यो असल हुनुपर्छ । बुद्ध, पुरुष,महापुरुषहरु मरेपनि उनीहरुको दृष्टिकोण अझै जीवितै छन् भन्ने प्रमाणित भइसकेको छ । सोच साधारणतया सकारात्मक र नकारात्मक दुई प्रकारका हुन्छन् । नराम्रा अनावश्यक सोच र विचारको हामीले व्यवस्थापन गर्न जरुरी छ । संसार बदल्ने सुरुवात आफबाटै गर्नुपर्दछ । अधिकांश समय अरुलाई बदल्ने र व्यवस्थापन गर्ने हामी कुरा गर्ने गर्छौं भने आफू परिवर्तन र ब्यवस्थित कहिले हुने भन्ने सोच्न फुर्सत पाएका हुदैनौँ । आफूले बदले सोच बदलिन्छ, सोच बदले जीवन बदलिन्छ । हरेक सफल ब्यक्तिहरुले कुनै नौलो काम गरेका छैनन् मात्र आफ्नो सोचमा परिवर्तन गरेका छन् । परिवार जीवनको पहिलो पाठशाला हो । परिवार सधै खुसी र आन्नद दिने हुनुपर्दछ ।
हामी अर्काको कुरा काटने, खुट्टा तान्ने, होच्याउने, घोच्ने,खिल्ली उडाएरका हिड्दा समय मात्र होईन कि जीवन नै बर्वाद तर्फ धकलिएको हुन्छ । सकारात्मक बन्नको लागि सकारात्मक संगत, सत्संग चाहिन्छ । आध्यात्मिक चिन्तन ,ध्यान ,योग आवश्यकता र गरिने भोजन खानपानले पनि मानिसलाई सत्यमार्गमा हिडाउछ । सकारात्मक हुने, बन्नुपर्छ भन्ने कुरा निर्विवाद नै छ । तर हामीले सकारात्मक मात्र बनेर पुग्दैन रहेछ । सकारात्मक मानव जीवनको पहिलो शर्त ,जग, र आधारभूत हो भने आफू र अरुप्रतिको दृष्टिकोण पनि तय गर्नुपर्ने हुन्छ । हरेक ब्यक्तिले आफनो योग्यता क्षमताको कदर, प्रोत्साहन र प्रशंसा चाहन्छ । त्यस तर्फ ध्यान दिनु पर्दछ ।सबैको योग्यता,क्षमता र विचारले कदर गर्ने हो । हामीले बोल्ने कुसल बचन र बोली समाजलाई सकारात्मक प्रभाव पारेको हुन्छ । सबैको उन्तति ,प्रगति र दीगो बिकासको लागि हामी सकारात्मक हुनु पर्दछ । मानव जीवनमा मानिसले सधै सत्म कर्म र असल मार्गमा हिड्न सके संसार सधै सकारात्मक मार्गमा हिडने थियो । यो मार्गले मानिसलाई खुसी र आन्नद दिने गर्दछ । बुद्धले यो मार्गको विकास तथा विपश्यना र ध्यानलाई संस्थागत गर्नुभएकोछ । मानिसले त्यो गर्न जरुरी छ ।