असलम खान । लुम्बिनीखबर
मर्चवार, २ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मर्चवारी गाउँपालिका र शुभ अवसर ग्राम नेपालको साझेदारी तथा युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ स्थित अधार भुत स्वास्थ्य केन्द्र महुवारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मर्चवारी गाउँपालिकाको आयोजनामा अधार भुत स्वास्थ्य केन्द्रको महुवारीमा आयोजित शिविरको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले उद्घाटन गरेका थिए । बरईले उद्घाटनको बैनर पढी शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गया प्रसाद बरईले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने बताए। उनले जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । अहिले जनताले गाउँघरमै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् ।
मर्चवारी गाउँपालिकाले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै ल्याएको छ उनले भने यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगीका रुपमा पहिचान भएका बिरामीलाई तत्कालै अस्पताल जान पनि सहयोग पुग्छ । औषधि पनि शिविरले निःशुल्क वितरण गरेको छ। शिविरमा मृगौला, मुटु, मधुमेह, घाँटी तथा ढाडरोग, छालारोग, बालरोग लगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । त्यस्तै शिविरमा इसीजी, भिडियो एक्सरे,फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो । शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले जानकारी दिए । अस्पतालमा गएर चेकजाँच गर्दा कम्तीमा ७ देखि १० हजार रुपैयाँ खर्च लाग्ने चेकजाँच र उपचार शिविरले निःशुल्क गरेको उनको भनाइ छ । यस आर्थिक वर्षको पहिलो शिविरमा ९ सय १७ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए ।