logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    निःसन्तान दम्पतीको सम्पत्ति कब्जा गर्न आतुर ‘नक्कली छोरी’


    ९ भाद्र २०८१ , आइतबार

    निःसन्तान दम्पतीको सम्पत्ति कब्जा गर्न आतुर ‘नक्कली छोरी’

    लुम्बिनीखबर
    सिद्धार्थनगर, ७ भाद्र । रूपन्देहीको सिद्धार्थनगर–६ गल्लामण्डीस्थित एक परिवारले निःसन्तान दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको बताएका छन् ।
    बिहिवार दुई दाजुभाई लालजीत र सन्त पत्रकार सम्मेलनको आयोजना आफूहरु विभिन्न सरोकारवाला निकायहरु संग गुहार माग्दा गुहार नपाएको बताएका छन् ।
    निःसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ती दाई फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवालले सम्पत्ती हत्याउन खोजेका हुन् ।
    सिद्धार्थनगर नगरपालिकामा बस्ने वर्ष ४६ का लालजीत र ४२ सन्त मल्लाहले ‘नक्कली छोरी’ बनेर अंश दाबी गर्ने महिला भारतीय नागरिक भएको दावी गरेका छन् ।
    निसन्तान भएका काका सुखु र काकी कबुतरीलाई आफू दुईदाजुभाईले पालनपोषण गरेका थिए । मल्लाह दाजुभाईका अनुसार २०७८ असार १७ मा मृत्यु भएका काका सुखु मल्लाहको सन्तान नभएकाले सुखु र कपुतरीको सहारा आफू दुई दाईभाई बनेका थियौं । ‘दुखविरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण काजक्रिया हामी दुईभाईले गरेका थियौं’, पत्रकार सम्मेलन गर्दै सन्तले जानकारी गराएका थिए ।
    पत्रकार सम्मेलनमा सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्ती हड्पन लागे ।’ बुवाआमा र काका–काकीको मृत्यु पछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जायजेथा जमिन लालजित र सन्तको नाममा जाने फैसला समेत गरेको थियो । फैसला अनुसार दुई दाईभाईले अंशबण्डा गरेर सबै जायजेथा आफनो नाममा गराएका थिए ।
    सिद्धार्थनगर, ओमसतिया र सियारीमा गरेर तीन पालिकामा रहेको मल्लाह दाजुभाइका नामका १८ कठ्ठा जमिनमा मालती र रिखीदेवी दुई महिलाले आफूलाई सुखुको छोरी भएको दाबी गरेपछि छक्क परेको बताए । पीडित परिवारले अदालतमा पेस गरेका कागजात अनुसार ती महिला भारतको बस्ती जिल्ला मेहदावलका बासिन्दा बदल मल्लाहका छोरी रहेको बताएका छन् । उक्त जमिन हडप्न चलखेलमा आफूहरु न्याय नपाएको दाजुभाइको गुनासो छ ।
    पत्रकार सम्मेलनमा जनाइएअनुसार सुरुमा ती महिलाले अंश माग गर्दै सन्त र लालजीतविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । अदालतले सुखुको मृत्यु दर्ता मागेपछि दुवै महिला सिद्धार्थनगर–६ स्थित वडा कार्यालयबाट मृत्युदर्ता प्रमाणपत्र नपाउँदा वडा र नगरपालिका विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेका थिए ।
    अदालतमा आफूहरू सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न नसकेपछि दाबी प्रमाण झूटा ठहर गर्दै अदालतले २०७८ माघ ५ मा रिट निवेदन खारेज गरिदिएको थियो । त्यसपछि ती महिलाले सिद्धार्थनगर–६ का वडासचिव विनोद कर्णसितको मिलेमतोमा सुखुको मृत्युदर्ता प्रमाणपत्र हात पार्न सफल भएका गुनासो गरेका थिए । निःसन्तान सुखुलाई बाबु कायम गरेर वंशजको नागरिकता निकाल्न सफल भएको दाबी मल्लाह दाजुभाइको छ । ती महिलाको नागरिकतामा सुखुले नभइ उनीहरूका पतिले सनाखत गरेको पीडितले बताए ।

    ‘नागरिकता खारेजीका लागि जिल्ला प्रशासनमा निवेदन दिएपछि प्रशासनले महिलाको नागरिकता छानबिनका लागि सार्जमिनका लागि पठायो तर २०८० साउन ५ मा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खान र मायादेवी–३ का वडाध्यक्ष मोहम्मद रफिक खानको रोहबर र साक्षीमा छानबिनबिनै महिलालाई नागरिकता फिर्ता गरियो ।’ पीडित लालजीतले बताए ।
    बाबु भनिएका सुखु र कान्छी छोरी बनेकी मालीको उमेरबीचको अन्तराल ६ वर्षको मात्रै रहेको र ६ वर्षमै सन्तान जन्मिएको कुरा अदालतले कसरी पत्यायो ? भन्ने मल्लाह दाजुभाईको प्रश्न रहेको छ । ‘नक्कली छोरी’ बनेका महिलाको नागरिकता छानबिन गरी कारबाही होस् र डीएनए परीक्षण गरेर भए पनि यथार्थ पत्ता लगाउने र यस कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनको कठघरामा खडा गर्नुपर्ने मल्लाह दाजुभाईको जोडदार माग रहेका छ ।
    मल्लाह दाजुभाइले वर्षौंदेखि न्याय गुहारको विभिन्न सरोकारवाला निकाय स्थानीय तहअन्तर्गतका वडा कार्यालय, नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, अदालत, राजनीतिक दलका प्रमुख कहाँ धाइरहेका छन् तर कसैबाट कुनै किसिमको सन्तोषजनक प्रतिक्रिया आएको छैन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसबारेमा पीडित पक्षले तथ्यगत प्रमाण उपलब्ध गराएको र नागरिकताका बारेमा यसअघि फरक ठाउँबाट गरिएको सर्जमिन तामेलीमा राखिएको अवस्थामा पीडितले पुनः निवेदन दिएपछि तामेली जगाएर फेरि सर्जमिन गराइएको र त्यसमा दुवैै महिला सुखुको छोरी नभएको देखिएकाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.