अन्जना चौहान । लुम्बिनीखबर
भैरहवा, २६ भदौ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपालमा भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी एकीकृत जाँच बिन्दुको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले समुद्घाटन गरेको थिए । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
पछिल्लो समय आफ्नै सवारीसाधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् । बेलहिया–सुनौली नाकाबाट भने भारतसहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन् ।
कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता रहेको देखिन्छ ।
नगरप्रमुख सजरुद्दीन मुसलमानले एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त पर्यटकका लागि सहज वातावरण हुने विश्वास व्यक्त गरेका थिए । पर्यटकमैत्री वातावरण बनाउन सरकारसँगै स्थानीय बासिन्दाको पनि दायित्व रहेको जनाए । कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा भन्सार सुविधा दिने व्यवस्था मिलाउनु पर्नेमा नगरप्रमुख मुसलमानले बताए ।
उपप्रमुख कल्पना हरिजले विगत ेदखि पर्यटकलाई ठाउँठाउँमा चेकिङ बहानामा दुःखको निवारण हुने बताएकी थिइन । नाका व्यवस्थापनले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह हुने समेत उनको विश्वास छ ।