भैरहवा, मंसिर २ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतको इलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको प्रहरी टोलीले मिति २०८१ मंसिर २ गते अबैधरुपमा भन्सार छली चोरी निकासी/पैठारी गरिएका विभिन्न सामान नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ तस्करी गरिएका अन्दाजी रु. ४,१९,५०० बराबरका सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।
बरामद भएका सामग्रीहरुमा चिनी ८ बोरा, हुडी ५९ वटा, लेडिज रेडिमेड उलन कुर्ती ५६ वटा, लेडिज रेडिमेड कुर्ती २२ वटा, लेडिज सुर्ट (काँचो कपडा) २३ वटा, सुती साडी १५ वटा तथा किरानाका सामानहरु रहेका छन् । बरामद गरिएका यी सामानहरू नियन्त्रणमा लिएर थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी प्र.ना.उ. लक्ष्मी खनालले जानकारी दिनुभयो ।
रुपन्देहीको सीमा क्षेत्रमा तस्करी तथा अबैध कारोबार नियन्त्रण गर्न प्रहरीले चेकजाँच अभियानलाई थप प्रभावकारी बनाएको छ । पछिल्लो समयमा प्रहरीले यस्ता विभिन्न कारबाही गरेर चोरी निकासी तथा पैठारीमा रोक लगाउँदै आएको छ । प्रहरीको यो कदमले सीमावर्ती क्षेत्रका सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सर्वसाधारणलाई अबैध कारोबार तथा तस्करीमा संलग्न नहुन आग्रह गरेको छ । त्यस्तै, यस्ता गतिविधिबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सूचित गर्न आह्वान गरिएको छ ।