भैरहवा, मङ्सिर १३ । नेपालमा प्रत्येक वर्ष खेती सिजनमा मलको अभावको समस्या रहँदै आएको छ। धान, गहुँ जस्ता मुख्य बालीका लागि रासायनिक मल नपाएर हैरानी खेपिरहेका किसानलाई अब भने राहत मिल्ने भएको छ । रुपन्देहीको ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले ‘रत्नम अर्गानिक दानेदार मल’ उत्पादन गर्दै बजारमा ल्याएको छ, जसले डीएपी मलको विकल्पको रूपमा काम गर्नेछ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–४, कोटहवामा ५ विघा जमिनमा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरिएको हो। भैरहवाका व्यवसायी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको नेतृत्वमा स्थापना भएको यस उद्योगले दैनिक १ सय मेट्रिक टन उत्पादन गरिरहेको छ, जसलाई विस्तार गर्दै २ सय मेट्रिक टनसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
उद्योगका अध्यक्ष सिद्धार्थ अग्रवालले भने, “नयाँ उद्योग भएकाले विस्तारै बजार फैलाउँदै उत्पादन बढाइरहेका छौं। किसानले अर्गानिक मलको गुणस्तर र फाइदाबारे बुझ्नेबित्तिकै उत्पादनको माग बढ्नेछ ।’’ रत्नम अर्गानिक मललाई रासायनिक मलभन्दा सस्तो र स्वास्थ्यकर बनाइएको छ । ५० किलो डीएपी मलको मूल्य करिब २४०० रुपैयाँ पर्नेमा रत्नम अर्गानिक मलको मूल्य १५०० रुपैयाँ मात्र राखिएको छ । उद्योगका प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालका अनुसार, “रासायनिक मलले माटोको उर्वराशक्ति घटाउँछ र स्वास्थ्यमा नकारात्मक असर पार्छ। त्यसैले हामीले अर्गानिक मल उत्पादन गरेर किसानलाई सस्तो र स्वस्थ विकल्प उपलब्ध गराएका छौं ।’’
रत्नम अर्गानिक मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण रहेको छ । यसले करेसाबारीको तरकारी खेतीदेखि मुख्य नगदेबाली धान, गहुँ, मकै, दाल, फलफूल र चिया बगानजस्ता उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ ।
कृषि परीक्षणका क्रममा मलको प्रयोगले उत्पादन बढेको पुष्टि भइसकेको छ । यसका कारण स्वदेशी अर्गानिक मलप्रति किसानको आकर्षण बढ्दै गएको उद्योगका अधिकारीहरूले बताएका छन् ।
कोरोना महामारीका समयमा मलको अभाव र आयात समस्याले मल उद्योग खोल्न प्रेरित गरेको अग्रवाल दम्पत्तिले बताए। उद्योगले अहिले लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गर्दै उत्पादन गरिरहेको छ । यस उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । “किसानलाई स्वदेशी मलमा विश्वास गर्न आग्रह गर्दछौं । यसले खेतीमा आश्चर्यजनक नतिजा दिन्छ ।’’ प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले भनिन् ।
सरकारले स्वदेशी मल प्रवर्द्धनका लागि विशेष नीति ल्याए किसानलाई सधैं मलको अभावबाट मुक्त गर्न सकिने उद्योगले बताएको छ । साथै, बजारमा गुणस्तरहीन अर्गानिक मलको विक्री रोक्न सरकारका तीनै तहलाई अनुरोध गरिएको छ । “स्वदेशी मललाई विश्वास गरेर प्रयोग गरौं । यसले दीर्घकालीन रूपमा कृषिमा सुधार ल्याउँछ ।’’ अध्यक्ष अग्रवालले भने ।
उत्पादित मल ५, २५ र ५० किलोका प्याकेजिङमा उपलब्ध छ । किसानले आफ्नै गाउँमा डिपोमार्फत मल किन्न सक्ने व्यवस्था गरिएको छ । सीमावर्ती भारतीय किसानहरू समेत यस मलप्रति आकर्षित भएका छन् । रत्नम अर्गानिक मलले खेतीपातीमा सुधार ल्याई किसानलाई आत्मनिर्भर बनाउन योगदान दिने अपेक्षा गरिएको छ । अब मलका लागि परनिर्भरता अन्त्य गरौं र स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं ।