भैरहवा, मङ्सिर २१ । रुपन्देहीको ओमसतिया–१, ठुटीपीपल केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास साकोसको आयोजनामा तथा महिला सशक्तिकरण तथा बालबालिका विकास उपसमितिको संयोजनमा संस्थाका महिला शेयर सदस्यहरुको सिप विकास गरी लघु उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले “१ दिने बाटेको धुप बनाउने तालिम” भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रम टुगा आस्था विकास साकोसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न भएको हो । तालिमको अध्यक्षता संस्थाका सञ्चालक तथा उपसमिति संयोजक श्री शशिकला गुरुङले गर्नुभएको थियो । प्रमुख अतिथि संस्थाका अध्यक्ष श्री डी. बि. थापाले तालिम उद्घाटन गर्नुहुँदै महिलाको आर्थिक र सामाजिक सशक्तिकरणमा यस्ता तालिमहरुले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको संचालन कोषाध्यक्ष शारदादेबी पौडेलले गर्नुभएको थियो । तालिममा महिला शेयर सदस्यहरुलाई बाटेको धुप बनाउने सीप प्रदान गरियो, जसको प्रशिक्षक श्रीमती माया देवी गुरुङ, मन कुमारी गुरुङ, मिना गुरुङ, र नुन माया गुरुङ रहनुभएको थियो । तालिमका क्रममा ६६ जना सहभागी महिलाहरुले धुप बनाउने प्रक्रियाका विभिन्न चरणहरु सिक्नुका साथै उत्पादनलाई व्यवसायिक स्तरमा लैजान सकिने उपायहरुको पनि जानकारी प्राप्त गरेका छन् ।
प्रमुख अतिथि डी. बि. थापाले शुभकामना मन्तव्य राख्दै महिला सदस्यहरुको सिप विकासले उनीहरुको आत्मनिर्भरतामा टेवा पु¥याउने मात्र नभई संस्थाको प्रगतिमा पनि सकारात्मक योगदान दिने उल्लेख गर्नुभयो । यस तालिमले सहभागी महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा लघु उद्यमी बन्ने दिशामा उत्प्रेरित गरेको आयोजक संस्थाले विश्वास लिएको छ । तालिमको समापनमा सहभागीहरुले यस्ता तालिमहरु आगामी दिनमा पनि निरन्तर आयोजना गर्न आग्रह गरेका थिए । टुगा आस्था विकास साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरण र आयमूलक क्रियाकलापमा निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ ।