मर्चवार, मंसिर ३०। श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पाण्डेय डिह, सम्मरीमाई ५ स्थित संस्थाको प्राङ्गणमा आयोजित यस सभा सम्पन्न भएसँगै संस्थाले आर्थिक वर्ष २०८१/०८२ को आय र व्ययको प्रतिवेदन प्रस्तुत गरेको हो ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ९५ हजार १ सयको शेयर पुँजी वृद्धि भइ कुल ४९ लाख ७० हजार ७ सय पुग्ने जानकारी दिए । उनले भने, “यस वर्ष हामीले बचत रकममा ५५ लाख २७ हजार ४२५ रुपैयाको वृद्धि गर्दै कुल ५ करोड ६० लाख २२ हजार १५५ रुपैया कायम गरेका छौं ।’’ यसै गरी, संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ५३ लाख ७९ हजार ३०० को ऋण लगानी गर्दै २ करोड ९५ लाख ९० हजार ६ सयको ऋण असुली गरेको पनि अध्यक्ष गडेरियाले बताएका छन् ।
संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक आशोककुमार तिवारीले संस्थाको कुल सम्पत्ति ८ करोड ४१ लाख ३४ हजार १५६ रुपैयाँ रहेको जानकारी दिए । यसले संस्थाको वित्तीय स्थितिमा उल्लेखनीय वृद्धि देखाउँछ । तिवारीले भने, “अर्थिक वर्ष २०७९/८० मा ७ करोड ६१ लाख ८९ हजार ७६ रुपैयाँ भएको कुल पुँजीमा ७९ लाख ४५ हजार ८० रुपैयाँको वृद्धि भएको छ ।’’
सभाको प्रमुख आकर्षण बन्यो सहकारीको प्रतिष्ठामा लगाइँदै आएको नकारात्मक प्रचार र अनावश्यक बदनामी । प्रमुख अतिथि जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीलाई बदनाम गर्नको लागि विभिन्न सडयन्त्र भइरहेको बताएका छन् । उनले भने, “सहकारी क्षेत्रमा केही व्यक्तिगत घटनाहरूको आधारमा सम्पूर्ण सहकारी संस्था र सदस्यहरूलाई दोषी बनाउनु गलत हो । यसलाई साँचोरूपमा बुझ्न आवश्यक छ ।’’ पंगेनीले सहकारी प्रणालीले गरीब तथा समुदायका लागि असल काम गर्दै आएको र यसलाई बदनाम गर्ने अभियानको विरोध गरे । उनले सबै सहकारी सदस्यहरूलाई आग्रह गर्दै भने, “सहकारीले दिएको सेवा सरल र सस्तो हुन्छ, त्यसैले सबैलाई समयमै ऋण फिर्ता गर्न आवश्यक छ ।’’
सभामा उत्कृष्ट बचतकर्ता, विधवा पेन्सन, ज्येष्ठ नागरिक बचतकर्ता, बाल बचतकर्ता र अन्य विभिन्न श्रेणीका सदस्यहरूलाई सम्मानित गरिएको थियो । सभा समापनमा राम अनुज प्रताप नारायण त्रिपाठीको सञ्चालनमा संस्थाका सचिव गनेश पाठकले स्वागत मन्तव्य राखेका थिए । यस अवसरमा, वडाध्यक्षहरू र अन्य विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले पनि मनोबल बढाउने विचार राखेका थिए । यस साधारण सभा मार्फत श्री भवानी स्वावलम्बन सहकारी संस्था लिमिटेडले भविष्यमा अझ बलियो र समृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।
